एक अन्तर्वार्ताका कारण अभिनेता सैफ अलि खान विरूद्ध मुद्दा दर्ता

एक अन्तर्वार्ताका कारण अभिनेता सैफ अलि खान विरूद्ध मुद्दा दर्ता

एजेन्सी। बलिउड अभिनेता सैफ अलि खान र ‘आदिपुरुष’ का निर्देशक ओम रावत कानुनी निगरानीमा परेका छन्। सैफ ‘आदिपुरुष’ मा रावणलाई मानवीय रुपमा चित्रण गरिने भनाइका कारण कानुनी निगरानीमा परेका हुन्।

भारतीय अखबार डिएनए अनुसार, सैफ अली र ओम रावत विरुद्धको मुद्दा उत्तर प्रदेशस्थित जौनपुर जिल्लाको अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट, एसिजेएममा दर्ता गरिएको छ।

अदालतले अर्को सुनुवाइका लागि डिसेम्बर २३ मिति तोकेको छ। नागरिक अदालतका अधिवक्ता हिमांशु श्रीवास्तवले धारा १५६ (३) अन्तर्गत अधिवक्ता उपेन्द्र विक्रम सिंह मार्फत मुद्दा दर्ता गराएका हुन्।

आवेदनमा वादी पक्षलाई ‘सनातन धर्म’ प्रति गहिरो आस्था रहेको बताइएको छ। उनका अनुसार, रामलाई भगवान र रावणलाई दुष्टको प्रतीकका रुपमा लिइन्छ। यही विश्वासमा भारतमा हरेक वर्ष दसहरा मनाइन्छ।

भगवान रामबारे बन्ने ‘आदिपुरुष’ मा सैफ रावणसँग मिल्दोजुल्दो भूमिकामा देखिनेछन्। सैफले एक अन्तर्वार्तामा भनेका थिए, ‘लक्ष्मणले रावणको बहिनी सुपर्णखाको नाक काटिदिएका थिए। त्यसैले उनले सीतालाई अपहरण गर्नुको औचित्य छ।’

- १ पुष २०७७, बुधबार १३:२३ मा प्रकाशित