कोरोनाको महामारीबीच सकियो बिस्केट जात्रा

कोरोनाको महामारीबीच सकियो बिस्केट जात्रा

भक्तपुर, ५ वैशाख (रासस) :

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आज साँझदेखि सम्पन्न भएको छ । गत चैत २८ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा आज साँझ पुनःभैरवको रथ तानेर सम्पन्न भएको हो । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका बीचमा भक्तपुर र मध्यपुरथिमिमा नेवार समुदायले मनाउने बिस्केट जात्रा, सिन्दुर जात्रा र जिब्रो छेड्नेलगायत विभिन्न जात्राहरू हजारौँको सहभागितामा भव्यरूपमा मनाइएको छ ।

कोरोना महामारीको जोखिम बढे पनि त्यसको बेवास्ता गर्दै स्वास्थ्य मापदण्डकोसमेत बेवास्ता गर्दै यहाँका बासिन्दाले हर्षोल्लासका साथ नौ दिनसम्म मनाइएको जात्रा आजदेखि सम्पन्न भएको हो । विक्रम संवत्अनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ । जात्राको आज अन्तिम दिन साँझ टौमढीबाट रथ तान्न शुरु गरेको छ । स्थानीयले टौमढीका तल र माथिका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । रथलाई तानेर टौमढी पुर्याएपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेका छन् । रथलाई तानिसकेपछि आजै रातिसम्म रथलाई पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखी रथबाट भैरव देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिन्छ । बिस्केट जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ ।

- ५ बैशाख २०७८, आईतवार २१:३२ मा प्रकाशित