
२ भदौ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिश गरेको छ ।
राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ । आज थप केही साथीहरु पनि आउनुहुन्छ,’ उनले भने, ‘अध्यादेश आएपछि दल दर्ता गर्छौं ।’नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारीमा छ । अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, नेकपा एमाले समाजवादी नै फाइनल होला ।’
- २ भाद्र २०७८, बुधबार १३:०६ मा प्रकाशित