जग्गा कित्ताकाट खोल्ने निर्णय खारेज

जग्गा कित्ताकाट खोल्ने निर्णय खारेज

काठमाडौं। तीन वर्षसम्म बन्द रहेको जग्गा कित्ताकाट एक साता अगाडि सरकारले फुकुवा गर्ने निर्णय चौतर्फी रुपमा विरोध भएपछि खारेज भएको छ। ७ दिनमै नपाइ जग्गा कित्ताकाट फुकुवा निर्णय भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खारेज गरेको हो।

जग्गा कित्ताकाट फुकुवा सम्बन्धी निर्णय गत भदौ १८ गते भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। उक्त निर्णय भूमि सम्बन्धी ऐन तथा नियमावली २०७४ विपरीत भएको र भूमाफिया पोस्ने नियतबाट गरिएको भन्दै सबैतिर चर्को विरोध भएको थियो।

यसरी विरोध हुन थालेकाले भदौ २५ गते मन्त्रालयले बदर गरेको छ। मन्त्रालयका सहसचिव दीपकुमार पहाडीले हस्ताक्षर गरेर सार्वजनिक गरेको निर्णयमा कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका निर्णयहरू बदर गरिएको उल्लेख गरिएको छ।

‘भू–उपयोग नियमावली जारी नहुन्जेलसम्म लागि जग्गाको कित्ताकाट सम्बन्धमा नेपाल सरकार मन्त्रीस्तरबाट ०७७ भदौ १८ गते कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको छ।’ सूचनामा उल्लेख गरिएको छ।

मन्त्री अर्यालले २०७५ पुस २७ गते कृषि बाहेकका अन्य जग्गाको कित्ताकाट खुल्ने भनी गरेको निर्णय पनि बदर गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन र भूमि सम्बन्धी ऐन लागू भइसकेको अवस्थामा ऐन अनुसार नै हुने भन्दै उक्त निर्णय बदर गरेको हो।

योसँगै अब कृषियोग्य जमिन कित्ताकाट गर्न पाइने छैन। अन्य जमिन पनि आवश्यकता र औचित्यताका आधारमा स्थानीय तहको सिफारिसमा मात्रै कित्ताकाट गर्न पाइने भएको छ।

- २९ भाद्र २०७७, सोमबार १५:२० मा प्रकाशित

Kumari Advertisement