कहिल्यै विवादमा नफर्कने ओली-प्रचण्डको वाचा, अन्तरपार्टी निर्देशन-५ को पूर्णपाठ

कहिल्यै विवादमा नफर्कने ओली-प्रचण्डको वाचा, अन्तरपार्टी निर्देशन-५ को पूर्णपाठ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिल्यै विवादमा नफर्कने वाचा गरेका छन्। स्थायी कमिटी बैठकको निर्णय जारी गर्दै अध्यक्षद्वय ओली प्रचण्डले स्थायी कमिटीको पाँचौं बैठकलाई समाधानको विन्दु मानेर विवादमा नफर्कने अठोट गरेका हुन्।

‘पार्टीभित्र देखापरेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाँचौ बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तर्विरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने’, अध्यक्षद्वयले नै हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ।

अध्यक्षद्वयले नेताहरूलाई सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न निर्देशन दिएका छन्। आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्न र गुटबन्दीपूर्ण क्रियाकलाप नगर्न परिपत्र गरेका छन्।

त्यस्तै, गुटगत गतिविधिलाई संरक्षण, प्रश्रय र प्रोत्साहन दिए, अनेकता, अराजकता, अनुशासनहीनता र गुटबन्दीपूर्ण कार्य गरे अनुशासनात्मक कारबाहीको विषय बनाउने र पार्टी विधानबमोजिम कारवाही गर्ने निर्देशनमा उल्लेख छ।

स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबाट प्रस्तुत प्रस्तावका सम्बन्धमा गम्भिरतापूर्वक छलफल भएको थियो। बैठकले उक्त प्रस्ताव आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गर्ने निर्णय गरेको छ।

स्थायी कमिटीको सोही निर्णयका आधारमा यो अन्तरपार्टी निर्देशन-५ जारी गरिएको छ।

- ३० भाद्र २०७७, मंगलवार १४:२२ मा प्रकाशित

Kumari Advertisement