कात्तिक १ गतेबाट विदेशी पर्यटक नेपाल आउन पाउने

कात्तिक १ गतेबाट विदेशी पर्यटक नेपाल आउन पाउने

काठमाडौं। सरकारले कात्तिक १ गतेबाट नेपाल आउने विदेशी पर्यटकलाई आवागमन खुला गर्ने निर्णय गरेको छ।

मंगलवार मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिमाल आरोहण गर्न आउने र पदयात्राका लागि आउने पर्यटकलाई कात्तिक देखि खुला गर्ने निर्णय गरिएको जानकारी दिए।

यो निर्णय सोमवार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो। नेपाल आवागमन गर्ने पर्यटकहरूले स्वास्थ्यसम्बन्धी मापदण्ड भने पूर्ण रूपमा पनाउनुपर्नेछ। त्यस्तै सरकारले शैक्षिक संस्था, परीक्षा संचालन, गोष्ठी, तालिम, खेलकुद जस्ता क्रियाकलापहरू अर्को सूचना नआएसम्म बन्द नै रहने निर्णय गरेको छ।

‘सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, डान्सबार, सार्वजनिक स्थल, सैलुनहरू, व्युटी पार्लर, मसाज तथा स्पा सेन्टर, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, मैदानमा हुने प्रशिक्षण, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भिक चरणका खेलहरू, सबै प्रकारका धार्मिक क्षेत्र, चिडियाखाना, पुस्तकालय अर्को निर्णय भएपछि मात्रै सञ्चालन हुनेछन्,’ ज्ञवालीले भने।

- ३० भाद्र २०७७, मंगलवार १९:१६ मा प्रकाशित

Kumari Advertisement