आन्तरिक उडान भोलिबाट, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने

आन्तरिक उडान भोलिबाट, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने

काठमाडौं। आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त जानकारी दिएको पौडेल बताए। सोमबारको मन्त्रिपरिषद् निर्णयले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको स्वयं पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नै जानकारी गराएका थिए। तर, मंगलबार साँझपछि मात्र सरकारका प्रवक्ताले असोज १ गतेबाट नै आन्तरिक उडानसँगै लामोदूरीका यातायात र होटल, रेस्टुराँ सञ्चालन हुने जानकारी गराएका थिए।

असोज १ गतेबाट आन्तरिक उडान खुलाउने सरकारको निर्णयपछि नागरिक उड्डयन प्राधिकरण प्रक्रियागत व्यवस्थापनमा जुटेको छ। कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सुरुमा ३० प्रतिशत मात्रै उडान हुने गरी घरेलु उडान खोलिने प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

सम्बन्धित वायुसेवा संचालकहरुसँगको छलफलपछि हाललाई ३० प्रतिशत उडान हुने गरी खोलिने सहमति भएको क्षेत्रीले अन्नपूर्णपोष्टलाई जानकारी दिएका छन्। कोराना अघिको समयमा आन्तरिकतर्फ दैनिक ३ सय भन्दा बढि उडान हुने गरेको थियो। यस्तै, आन्तरिक वायुसेवा कम्पनीहरूले साविकको समयमा उडाउदै आएको सबै क्षेत्रका लागि उडान खुल्ला गरिएको बताइएको छ।

सुगम तथा दुर्गम वा ट्रंक रुट-लामो धावनमार्ग भएका तराईका विमानस्थल० तथा सर्ट रुट (छोटो धावनमार्ग भएका दुर्गम क्षेत्रका विमानस्थल) सबै क्षेत्रका लागि नै उडान अनुमति दिइने प्रवक्ता क्षेत्रीले बताए। यसअघि सरकारले असोजबाट आन्तरिक उडान खुलाए पनि कोरोना संक्रमण बढि भएका तराइका जिल्लाहरूमा उडान नगर्ने र पहाडी तथा हिमाली जिल्लाहरूमा मात्र उडान गरिने बताएको थियो। अब आन्तरिक उडानका लागि वायुसेवा कम्पनीहरूले चाहेको गन्तव्यमा उडान अनुमति माग्न पाउने छन्।

उडान सुचारु गर्दा वायुसेवा कम्पनीहरूले पर्यटन मन्त्रालय तथा प्राधिकरणले सार्वजनिक गरेका स्वास्थ्य सुरक्षा मापदण्डलाई भने पालना गर्नुपर्नेछ। आगमन कक्षमा यात्रुहरूको ज्वरो नाप्ने, पूर्ण विवरण खुलाउने गरी फारम भर्न लगाउनुपर्ने, यात्रुहरूले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने जस्ता मापदण्डहरूको अक्षरंश पालना गर्नुपर्ने छ। आन्तरिक उडान गर्ने यात्रुहरूको कोरोना जाँच (पीसीआर) गर्ने वा नगर्ने सम्बन्धमा भने छलफल भइरहेको प्राधिकरण प्रवक्ताको भनाइ रहेको छ।

 

- ३१ भाद्र २०७७, बुधबार ०७:०७ मा प्रकाशित

Kumari Advertisement