तिलोत्तमाका निजी विद्यालयले ७५ प्रतिशत शुल्क लिन पाउने

तिलोत्तमाका निजी विद्यालयले ७५ प्रतिशत शुल्क लिन पाउने

तिलोत्तमा। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले यहाँका निजी विद्यालयले मासिक शिक्षण शुल्कलाई आधार मानी ७५ प्रतिशत मात्रै शुल्क उठाउन स्वीकृति दिएको छ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ को दफा ३० मा भएको व्यवस्थाअनुसार नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले विद्यार्थीबाट उठाइने शुल्क निर्धारण गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले निर्धारण गरेको शुल्क असार महिनादेखि मात्रै विद्यालयहरूले लिन पाउने बताइएको छ।  वैकल्पिक सिकाइ क्रियाकलापमा सहभागी हुने विद्यार्थीबाट मात्रै विद्यालयले शुल्क लिन पाउनेछन्।

त्यसमा अनलाइन कक्षाका साथै निर्देशिकामा उल्लेख भएका थप सहजिकरणका ४ माध्यम रहेका छन्। मासिक शिक्षण शुल्क बाहेकका अतिरिक्त क्रियाकलाप शुल्क, यातायात शुल्क, विज्ञान शुल्क, कम्प्युटर शुल्क, पुस्तकालय शुल्कलगायतका शुल्कहरु सहज रुपमा विद्यालयमा विद्यार्थीहरू भौतिक रुपमा उपस्थित नभएसम्म लिन नपाइने बताइएको छ।

तोकिएको भन्दा बढी शुल्क लिए र तोकिएको भन्दा अरु शीर्षकमा शुल्क उठाए त्यस्ता विद्यालयलाई कारबाहीको दायरामा ल्याउने पनि जनाइएको छ। तिलोत्तमा नगरपालिकामा ३९ वटा संस्थागत विद्यालय छन्। ती विद्यालयमा करिब २४ हजार विद्यार्थी अध्ययनरत छन्।

 

- ३१ भाद्र २०७७, बुधबार ०९:२६ मा प्रकाशित

Kumari Advertisement