उखु कृषक दर्ताको म्याद असोज मसान्तसम्म 

उखु कृषक दर्ताको म्याद असोज मसान्तसम्म 

काठमाडौं। सरकारले उखु कृषकहरू सम्बन्धित स्थानीय तहमा अनिवार्य दर्ता हुने प्रावधान अनुसार उखु कृषक दर्ताको म्याद आगामी असोज मसान्तसम्मका लागि थप गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोभिड-१९ बाट सृजित विषम परिस्थितिको कारण दर्ता छुट भएका कृषकलाई दर्ता गरी लगत प्रकाशन गर्ने म्याद एक महिना थपिएको जनाएको हो।

यसअघि भदौ मसान्तसम्म अर्थात् आजसम्म दर्ता गर्नुपर्ने सूचना गत जेठ २० मा प्रकाशित गरिएको थियो। सरकारले स्वीकृत गरेको उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि (दोस्रो संशोधन) २०७५ को दफा ४ क बमोजिम आव २०७७/०७८ देखि सरकारबाट अनुदान पाउन उखु कृषकहरू सम्बन्धित स्थानीय तहमा अनिवार्य दर्ता हुनुपर्ने प्रावधान छ।

सोअनुसार ०७७ भदौ मसान्तभित्र दर्ता भएका उखु कृषकको लगत प्रकाशन गरी सम्बन्धित चिनी मिल, जिल्लास्थित भुक्तानी समिति र कृषि मन्त्रालयमा उपलब्ध गराउन भनिएकोमा अब असोज मसान्तसम्म यी कार्य किसानहरूले गर्नुपर्नेछ।

 

- ३१ भाद्र २०७७, बुधबार १४:०४ मा प्रकाशित

Kumari Advertisement