
काठमाडौं। देशै भरिका मठ मन्दिर खुला गर्न विश्व हिन्दु परिषद नेपालले आग्रह गरेको छ। नेपालमा कोरोना महामारीका कारण देशै भरिका मन्दिरहरूमा १० चैतपछि नियमित पूजा बन्द गरिएको छ। कोरोना कहरका कारण हिन्दु धर्मावलम्बीहरूको चाड पर्व पनि प्रभावित भएको अवस्था छ। यसैबीच पशुपतिनाथ मन्दिर खुला गर्न सरकारले तयारी गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषलाई पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने गरी तयारी गर्न निर्देशन दिएका हुन्। आज एक विज्ञप्ति जारी गर्दै सरकारको यस कदमको विश्व हिन्दु परिषद् नेपालले स्वागत गरेको जनाइएको छ।
मुलुक बिस्तारै कोभिड-१९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा निश्चित समयसम्म स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर देशै भरिका मठ–मन्दिरहरुमा समेत नियमित दर्शन खुला गर्न एवं आउँदै गरेको नेपालीहरूको महान पर्व दशैँको सहजताको लागि आवश्यक व्यवस्था मिलाउन हुन सरकार समक्ष विश्व हिन्दु परिषद नेपाल हार्दिक आग्रह गर्दछ। विज्ञप्तिमा भनिएको छ।
- ३१ भाद्र २०७७, बुधबार १४:५१ मा प्रकाशित