‘देश दर्शन’ कार्यक्रम शुरु : पर्यटनमा उत्साह थपियो-पर्यटनमन्त्री भट्टराई

आन्तरिक उडानमा ८० प्रतिशत बढी अकुपेन्सी

‘देश दर्शन’ कार्यक्रम शुरु : पर्यटनमा उत्साह थपियो-पर्यटनमन्त्री भट्टराई

काठमाडौँ। कोभिड-१९ महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई गतिशील बनाउन सरकार तथा निजी क्षेत्रको साझेदारितामा पर्यटन पुनरुत्थान अभियान शुभारम्भ गरिएको छ।

सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवालासँस्थाको समन्वय तथा सहकार्यमा देशदर्शन अभियान शुरु गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनरुत्थान कार्यदलले आन्तरिक पर्यटनलाई चलायमान बनाउने पर्यटकीय गतिविधि सार्वजनिक गरेको छ। ‘पर्यटनका लागि हाम्रो देश, घुमौँ देश, चिनौ परिवेश’ भन्ने मूल नाराका साथ अभियानको लोगो, सन्देशमूलक भिडियोलगायतका सामग्री सार्वजनिक गरिएको हो।

पर्यटन पुनरुत्थानका लागि भएको पहलको पहिलो पाइला स्वरुप देश दर्शन कार्यक्रमको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड महामारीका कारण थलिएको पर्यटनलाई गतिशील बनाई आर्थिक गतिविधि बढाउन सकारात्मक ऊर्जा प्रदान गरेको बताए।

उनले भने, ‘यो कार्यक्रम मरुभूमिमा उम्रँदै गरेको बिरुवामा सिञ्चन गरेको जस्तो अनुभूति भएको छ, किनकी यसले हामीलाई पुर्नजिवित गरेको सन्देश दिएको छ, झण्डै ५/६ महिना छुट्टा छुट्टै बसेर आफ्ना दुःख व्यथा सहेर अब फेरी पनि एक ठाउँमा उभिएर सामूहिक प्रयत्नका साथ सिङ्गो पर्यटन क्षेत्रलाई चलायमान बनाउन उत्साह बढाएको छ।’

पर्यटनमन्त्री भट्टराईले कोरोना महामारीको जोखिम कम भइनसकेको तर यसबाट भागेर नभई जुधेर सबै एकताबद्ध भई साझा अभियानलाई सार्थक बनाइनुपर्नेमा जोड दिए। उनले कार्यदलले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि शुरु गरेको देश दर्शन कार्यक्रमलाई सरकारको सम्पूर्ण साथ सहयोग रहने बचन दिएका छन्।

पर्यटनमन्त्री भट्टराईले महामारीबाट बचेर पर्यटनका गतिविधि बढाउन सरकारले हवाई उडान, होटल तथा रेस्टुराँ व्यवसाय, पदयात्रा, पर्वतारोहणजस्ता पर्यटकीय क्षेत्रलाई खुल्ला गरिसकेको उल्लेख गरे।

आन्तरिक उडानमा ८० प्रतिशत बढी अकुपेन्सी
असोज ५ देखि शुरु भएको मुलुकको आन्तरिक उडान उत्साहबद्र्धक रहेको छ। पर्यटनमन्त्री भट्टराईले आन्तरिक उडानमा अहिले ८० प्रतिशत भन्दा बढी अकुपेन्सी रहेको र यसले पर्यटन क्षेत्रमा सकारात्मक सञ्चार जगाएको उल्लेख गरेका छन्।

उनले कोभिड पछि नियमित उडान गर्नेमा नेपाल दक्षिण एशियाकै पहिलो मुलुक भएको पनि बताए।पर्यटनमन्त्री भट्टराईले देशको आन्तरिक पर्यटनको मुख्य आधार देश दर्शन कार्यक्रम भएकाले यसलाई तीन तहको सरकार र निजी क्षेत्रको साझेदारितामा प्रभावकारी रुपमा अघि बढाइने बताए।

उनले आन्तरिक पर्यटनमा आर्थिक गतिविधि बढाउन निजामति, सार्वजनिक कर्मचारी, शिक्षकलगायतलाई सातामा दुई दिन बिदाको व्यवस्था गर्न मन्त्रालयले कार्यदल बनाइ गृर्हकार्य गरिरहेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लगिने बताए।

मन्त्री भट्टराईले अनअराइभल भिषाको व्यवस्थाका लागि गृह मन्त्रालय, अध्यागमन विभागसँग छलफल भइरहेको र अनलाईन मार्फत यस्तो सेवा दिनसकिने गरी आवश्यक तयारी गइरहेको पनि जानकारी दिएका छन्। पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थान सरकारको प्राथमिकता परेको बताए।

उनले अक्टोबर १ तारिखदेखि सातामा ११९ अन्तर्राष्ट्रिय उडान संख्या बढाउने मन्त्रालयले निर्णय गरिसकेकाले अन्तर्राष्ट्रिय पर्यटकको पनि चहल पहल बाक्लिने विश्वास व्यक्त गरेका छन्। भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो।

कार्यदलका संयोजक एवम् नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले महामारीबाट सुरक्षित रहदैँ पर्यटनसँग सँगसँगै भन्ने भावनाका साथ सरोकारवाला संस्था एकताबद्ध भएर देश दर्शन कार्यक्रम अघि बढाइएको उल्लेख गरे।

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका बिभुती चन्द ठाकुरले महामारीबाट छटपटाएको पर्यटन क्षेत्रमा उत्साह जगाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

कोभिड महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममूखी भूमिका खेल्न निजी क्षेत्रको पहलमा सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम कार्यदल स्थापना भएको हो।

देश भित्रका पर्यटन क्षेत्रका सरोकारवालाहरु तथा स्रोत बजारका टुर अपरेटर्स एवम् सम्भाव्य पर्यटकहरुबीच विश्वसनीय र प्रभावकारी सञ्चार गर्न कार्यदलले गतिविधि सञ्चालन गर्ने जनाएको छ।

पर्यटनको दिगो तथा छिटो पुनरुत्थानका लागि सकारात्मक सन्देश प्रबाह गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रम सम्बन्धित निकायलाई सुझाउनुका साथै नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरु नियमित रुपमा सम्प्रेषण गरिने पाटा नेपालका सिइओ सुरेश सिंह बुडालले बताए।

पाटन नेपाल च्याप्टर र स्कल नेपालबाट अघि बढाइएको यस पहलमा पर्यटन बोर्ड, पर्यटन क्षेत्रका विशिष्ट व्यक्ति सल्लाहकार, मुख्य छाता सङ्गठन संस्थागत संरक्षक रहेका छन्।

कार्यदलको प्रवक्तामा पाटाका कोषाध्यक्ष खेम लकाई र कार्यदलको सचिवालय व्यवस्थापनको जिम्मा पाटाका सिइओ बुडाललाई दिइएको छ।

 

 

- १० आश्विन २०७७, शनिबार १८:३९ मा प्रकाशित

Kumari Advertisement