‘ए मेरो हजुर ४’को छायांकन शुक्रबारबाट हुने, दुर्गेश अनुबन्धित

‘ए मेरो हजुर ४’को छायांकन शुक्रबारबाट हुने, दुर्गेश अनुबन्धित

काठमाडौं। लकडाउनका कारण विगत ६ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन आउँदो शुक्रबारदेखि सुरु गर्ने तयारी रहेको निर्माणपक्षले जनाएको छ।

केही चलचित्रका निर्माताले असोज १५ गतेबाट छायांकन सुरु गर्ने बताइरहँदा चलचित्र ‘ए मेरो हजुर ४’का निर्माताले भने शुक्रबारदेखि चलचित्रको छायांकन सुरु गर्ने तयारी गरेको बताएका छन्।

चलचित्रको ५० प्रतिशत छायांकन लकडाउन अगाडि सकिएको थियो। बाँकी ५० प्रतिशत छायांकन अब गर्ने तयारी भएको बताइएको छ। अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई यो वर्षको दशैँमा रिलिज गर्ने तयारी निर्माणपक्षको थियो।

तर, कोरोना भाइरसका कारण यो सम्भव हुन सकेन। यसैबीच, चलचित्रमा गायक दुर्गेश थापालाई यसको निर्माणपक्षले अनुबन्धित गरेको छ। निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र कोरियोग्राफर रामजी लामिछानेले दुर्गेससँग आज भेट गरेका हुन्।

चलचित्रमा पनि दुर्गेस आफ्नै परिचयमा देखिनेछन्। चलचित्रमा एउटा गीत र केही दृश्यमा दुर्गेस देखिनेछन्। यसअघि गायक थापाले चलचित्र ‘छ माया छपक्कै’को एउटा प्रमोसन गीत गाएका थिए भने सो गीतमा अभिनय पनि गरेका थिए।

 

- १२ आश्विन २०७७, सोमबार ११:३१ मा प्रकाशित

Kumari Advertisement