पाथीभरालाई नमुनाको रुपमा धार्मिक सांस्कृतिक केन्द्र बनाइने छ : पर्यटन मन्त्री

पाथीभरालाई नमुनाको रुपमा धार्मिक सांस्कृतिक केन्द्र बनाइने छ : पर्यटन मन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पाथीभरा क्षेत्रलाई नमुना धार्मिक सांस्कृतिक केन्द्र बनाउने बताएका छन्। आज मन्त्रालयमा पुरातत्व विभागले तयार गरेको पाथीभरा गुरुयोजनाको प्रारम्भिक प्रतिवेदन माथि ताप्लेजुङका सरोकारवालाहरूसँगको छलफलमा सो कुरा बताएका हुन्।

मन्त्री भट्टराईले पाथीभराको हाल कायम भएको क्षेत्र वैज्ञानिक नभएकोले सर्वपक्षीय भेला गरेर क्षेत्र निर्धारण गर्नु पर्ने धारणा व्यक्त गरे। साथै गुरुयोजनामाथि टिप्पणी गदै पाथीभराको विकासका लागि कोर एरिया, बफर एरिया र आउटर एरिया बनाएर विकास गर्नुपर्ने जोड दिदै माथिल्लो फेदिदेखि पाथीभरासम्म तीन ठाउँमा टि–सप, शौचालय लगायतका संरचनाको सुझाव पनि दिए।

मन्त्री भट्टराई सो क्षेत्रमा बन्ने होटलहरु लगायतका संरचनामा पाथीभरा र ताप्लेजुङलाई सुहाउँदो डिजाइन तयार गरी एकै खालको घरहरू बनाउनु पर्ने र बनेकोलाई पनि सोही डिजाइनमा ढाल्नका प्रेरित गर्नुपर्ने बताए। उनले पाथीभराको बारेमा बढी विवाद गरेर पाथीभरालाई क्षति पुग्नेतिर लाग्न नहुने बताउँदै विवाद बढे शक्तिपीठको आकर्षण अन्य क्षेत्रमा सर्न सक्ने धारणा राखे।

उनले स्थलगत रुपमा ताप्लेजुङ गएर स्थानीय नगरपालिका, गाउपालिका राजनीतिकदल, स्थानीय प्रशासनहरुसँग छलफल गरेर टुङ्गाउन समेत निर्देशन दिए। त्यस्तै पूर्व मन्त्री मणि लामाले पाथीभरा सबैको गन्तव्य स्थलको रुपमा विकास गर्नु पर्नेमा जोड दिए। मन्त्री लामाले पाथीभरा दर्शनको लागि धेरै तीर्थयात्रीहरू सिक्कीमबाट आउने हुँदा चिया भञ्ज्याङबाट बाटो खोल्न आग्रह गरेका छन्।

अर्का पूर्व मन्त्री याङकिला शेर्पाले पाथीभरालाई धार्मिक पर्यटनको रुपमा विकास गर्नुपर्ने धारणा राख्दे पूर्व क्षेत्रलाई पर्यटन प्रोडक्टको रुपमा विकास गर्न विकास गर्नुपर्नेमा जोड दिए। त्यस्तै अर्का मन्त्री ओङ्दी शेर्पाले पाथीभरा जाने यात्रुहरूको सहजताको लागि आवश्यक बाटो निर्माण गर्नुपर्ने बताए। गुरुयोजनालाई टुङ्गोमा पुर्याउन स्थानीय स्तरमा छलफल गर्नुपर्नेमा जोड दिएका छन्।

फुङलिङ नगरपालिका मेयर छत्रपति प्याकुरेलले पाथीभराको विकासको लागि सुकेटार देखि काफ्ले पाटी सम्मको बाटो चाँडो बनाउनुपर्ने धारणा राखे। उनले पाथीभराको गुरुयोजनाको बारेमा जिल्लामा छलफल गर्नुपर्ने बताए। नेपाल कम्युनिष्ट पाटीका ताप्लेजुङ इन्चार्ज भाष्कर काफ्लेले विकास रोक्नु नहुने बताउँदै समस्या आएमा छलफल स्थानीय स्तरमा छलफल गरेर टुङ्गोमा पुग्नुपर्ने धारणा राखे।

ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले गुरुयोजना अपुरो भएको बताउँदै ताप्लेजुङको विकास भनेको पाथीभराको विकास भएकोले पाथीभराको प्राकृतिक ऐतिहासिकता जोगाउदै सो क्षेत्रको विकास गर्नुपर्ने धारणा व्यक्त गरे। सरोकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठले पाथीभराको गुरुयोजना बन्न जिल्लाकै मन्त्री हुनपर्ने अवस्था आएको बताउँदै गुरुयोजनामा पाथीभराको सम्पूर्ण एरिया समेटिनुपर्ने बताए।

साथै पाथीभरा क्षेत्रमा के गर्ने र के नगर्ने भन्ने सम्पूर्ण कुरा गुरुयोजनाले बोल्नुपर्ने, पाथीभराको पुरातात्विक अध्ययन हुनुपर्ने र पुरातात्विक बाहेक पछि निर्माण भएको संरचनालाई उपयु्क्र ठाउँमा स्थानान्तरण गरिनुपर्ने, पाथीभराको डाँडाको सौन्दर्यतालाई बिगार्ने कुनै पनि संरचना डाँडामा बनाउनु नहुनेलगायतका सुझाब दिएका छन्।

ताप्लेजुङ समाजका महासचिव अग्नी पौडेलले पाथीभराको मौलिकता जोगाउन अलौकिक शक्ति पिठको रुपमा रहेको पाथीभरा डाँडामा कुनै पनि संरचना निर्माण गर्न नहुने तर्क राखेका थिए। छलफल कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी,सह सचिवद्धय कमलप्रसाद भट्टराई र प्रदिप कोईराला पुरातत्व विभागको महानिर्देशक दामोदर गौतम लगायतका उपस्थिति रहेको थियो।

 

- १३ आश्विन २०७७, मंगलवार १७:४० मा प्रकाशित