चाडपर्वको बेला आकाशियो तरकारीको भाउ

चाडपर्वको बेला आकाशियो तरकारीको भाउ

काठमाडौं। चाड्पर्व नजिकिएसँगै तरकारीको मूल्य उच्च दरमा बढ्न थालेको छ। गाजरबाहेक सबैजसो तरकारीको भाउ बढेको छ। इस्कुसबाहेक प्रायः सबै तरकारीको मूल्य ‘थ्री डिजिट’ मा बढेको छ।

कालिमाटी तरकारी बजारको थोक मूल्यलाई आधार मान्दा खुद्रा बजारमा प्रायः सबैजसो तरकारी प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको तरकारी तथा फलफूल व्यवसायीहरु बताउँछन्।

यो वर्ष लकडाउनका कारण कृषकमा परेको मनोवैज्ञानिक त्रासको असर उत्पादनमा पनि परेको उनीहरुको भनाइ छ।
लकडाउनमा नेपाली तरकारीको उत्पादन नभएको र भारतबाट आएकाले महंगो भएको व्यवसायीहरुले तर्क गरे पनि चाडबाडका बेला मनोमानी भाऊ बढाइएको हुन सक्ने उपभोक्ताको गुनासो छ।

अझै एक महिना तरकारीको मूल्य घट्ने अवस्था नरहेको बताउँदै व्यवसायी भन्छन् ‘दशैंअघि मूल्य घट्ने अवस्था छैन, अब विस्तारै उपत्याकाका टनेलका उत्पादन आउन थाल्छन्, तराईबाट पनि उत्पादन आउन थाल्छ, त्यसपछि मात्रै तरकारी सस्तो हुन्छ।’

कालिमाटीको थोक बजारमा शनिबार गोलभेडाको औसत मूल्य प्रतिकेजी ५० रुपैयाँभन्दा माथि पुगेको छ। एक हप्तायता गोलभेडाको मूल्य प्रतिकिलो ७ देखि १५ प्रतिशतले बढेको हो। केही हप्ताअघिभन्दा गोलभेडा सस्तो भए पनि यो हप्तादेखि फेरि बढेको छ।

यो वर्ष आलु पनि चरम महंगो भएको छ। अहिले भारत, भुटान र बंगलादेशबाट आलु आयात भइरहेको छ। रातो आलु थोकमै प्रतिकिलो १०० रुपैयाँ माथि पुगेको छ। भारतीय रातो आलुको मूल्य थोकमा ६५ रुपैयाँ हाराहारी पर्छ। मुडेको रातो आलु पनि थोकमै प्रतिकिलो ८५ रुपैयाँ बराबर पर्छ।

बन्दाको मूल्य पनि थोकमा किलोको ७० रुपैयाँ भन्दा माथि छ। स्थानीय काउलीको थोक मूल्य किलोमा १२० रुपैयाँ भन्दा बढी छ। यो हप्ता लामो भन्टाको मूल्य पनि ह्वात्तै बढेको छ। करिब आधाभन्दा बढी मूल्य बढेर लाम्चो भन्टा थोकबजारमै किलोमा १५० रुपैयाँ नाघेको छ। तने बोडी पनि करिब १५ प्रतिशत महंगो भएर थोक बजारमै किलोमा १५५ रुपैयाँ पर्न थालेको छ।

लोकल घिउसिमी एकहप्ताअघि थोक बजारमा ७० रुपैयाँमा बिक्री भइरहेको थियो, अहिले बढेर १०० को हाराहारी पुगेको छ। हाइबि्रड घिउसिमी पनि ८० रुपैयाँबाट ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन थालेको छ। भटमास कोसाको प्रतिकिलो ६० रुपैयाँ हाराहारीमा थोक मूल्य छ। एकहप्ताअघि ७० रुपैयाँमा पाइने तितेकरेला थोक बजारमै प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ।

थोक बजारमै तरकारी छोइनसक्नु भएपछि खुद्रा बजारमा झण्डै यसको आधाभन्दा बढी मूल्य जोडेर बेचिँदैछ। थोकमा ६० रुपैयाँमा किनिएको गोलभेडा खुद्रामा १०० रुपैयाँ माथि मूल्य राखेर बेचिँदैछ।

तरकारीमा उच्च नाफाखोरी भइरहँदा पनि सरकारले प्रभावकारी बजार अनुगमन गर्न सकेको छैन। कृषकबाट बजारसम्म आउँदा दोब्बर बढेको तरकारीको मूल्य उपभोक्ताको भान्छासम्म पुग्दा तेब्बरसम्म बढ्ने गरेको छ।

विभिन्न तहका बिचौलियाले तरकारीको मूल्य आफ्नो नाफा अनुकुल हुने गरी बढाउने गरेका छन् । बजारमा जति मूल्य परे पनि चुपचाप किन्नुपर्ने उपभोक्ताको बाध्यताको फाइदा बिचौलिया र ब्यापारीहरुले उठाउँदैछन्।

बजारमा हुने आपूर्तिका आधारमा तरकारीको दर घटबढ हुने गरेको छ। तर, अहिले तरकारीको मूल्य किन बढ्यो भन्ने भरपर्दो कारण ब्यापारीहरुले पनि दिन सकेका छैनन्। अहिले आपूर्ति व्यवस्था सहज भएकाले ब्यापारीले उत्पादनको अभावलाई कारण देखाएका छन्।

- २४ आश्विन २०७७, शनिबार १६:४१ मा प्रकाशित

Kumari Advertisement