आठ हजार विद्यार्थीको भविष्य अन्योलमा

आठ हजार विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौँ। स्वास्थ्य मन्त्रालयको मनोमानीका कारण चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाका लागि तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्।

सरकारी छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई सहभागी गराउने विषयमा मन्त्रालयले नियमावलीलाई चुनौती दिनेगरी निर्णय गरेपछि खुला तर्फका आठ हजार विद्यार्थीको भविष्य अन्योलमा परेको हो।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले मङ्गलबारदेखि तीन दिन प्रवेश परीक्षा सञ्चालन गर्न सबै तयारी पूरा गरे पनि छात्रवृत्तिमा अध्ययन गरेका १ सय ५० जना विद्यार्थीलाई सहभागी गराउने विषयमा स्वास्थ्य मन्त्रालय मनोमानीका कारण परीक्षा नै अनिश्चित बन्न पुगेको छ।

गत जेठमै हुनुपर्ने परीक्षा कोरोना महामारी र नियमावली नआउँदा रोकिएर यसै हप्ता (असोज २७, २८ र २९ गते) तोकिए स्थगित हुँदा थप अन्योलमा परेको छ।

गत साउनमा जारी भएको राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ ले छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले एक वर्ष सेवा गरेपछि माथिल्लो तहमा अध्ययनका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ।

तर स्वास्थ्य मन्त्रालय मातहतको नीति अनुमगन तथा योजना महाशाखाले स्थायीको हकमा दुई वर्ष र करार तथा अस्थायीको हकमा शर्तअनुसार सेवा अवधि पूरा नगरी फारम नलिन आयोगलाई पत्राचार गरेपछि समग्र परीक्षा नै प्रभावित भएको हो।

 

- २६ आश्विन २०७७, सोमबार १३:४९ मा प्रकाशित

Kumari Advertisement