सुरु भयो सुदूरपश्चिमको पहाडी जिल्लामा उडान

सुरु भयो सुदूरपश्चिमको पहाडी जिल्लामा उडान

डोटी। सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइन अटर विमान मंगलबार बझाङ पुगेको छ।

कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको ९ एन-एकेजेड विमान १६ जना यात्रु बोकेर बझाङ पुगेको हो। बझाङबाट पनि १६ जना यात्रु बोकेर उक्त बिहान धनगढी फर्केको छ।

२०३५ सालमा धुले धावनमार्गमा हवाई उडान सुरु भएको बझाङ विमानस्थल २०६६ सालदेखि पूर्ण रुपमा बन्द थियो। द्वन्द्वकालमा समेत नियमित उडान भइरहेको बिमास्थलमा शान्ति स्थापना भएसँगै यात्रुहरूको संख्या घटेको कारण देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेको थियो।

पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्रे गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेतृत्वको टोलीले असोज १६ गते विमानस्थलको निरीक्षण र परीक्षण उडान गरेको थियो।

परीक्षण उडान सफल भएपछि मंगलबार नियमित उडान सुरु भएको छ। बझाङमा सातामा दुई दिन मंगलबार र शुक्रबार उडान भर्ने समिट एयरको तयारी छ। यस्तै समिट एयरले बैतडी र डोटीमा सातामा एक दिन उडान भर्ने तालिका बनाएको छ।

नेपाल नागरिक उड्यन प्राधिकरणले धनगढीलाई केन्द्र बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सञ्चालन गर्न एयर ट्राफिक कन्ट्रोलर खटाइसकेको छ।

टर्मिनल भवन, टावरलगायतका अन्य उपकरण जडान नभएको अवस्थामा तत्कालका लागि भीएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति खटाएको प्राधिकरणले जनाएको छ।

 

- २७ आश्विन २०७७, मंगलवार १६:४७ मा प्रकाशित

Kumari Advertisement