कोरोना संक्रमित परीक्षामा सहभागी हुन नपाउने स्वास्थ्य मापदण्ड कार्यान्वयन नगर्नु : सर्वोच्च अदालत

कोरोना संक्रमित परीक्षामा सहभागी हुन नपाउने स्वास्थ्य मापदण्ड कार्यान्वयन नगर्नु : सर्वोच्च अदालत

काठमाडौँ। सर्वोच्च अदालतले परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड २०७७ कार्यान्वयन नगर्न लोकसेवा आयोगलाई अन्तरिम आदेश दिएको छ।

मानव अधिकार सञ्जालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मापदण्ड नै कार्यान्वयन नगर्न आदेश दिएको हो।

आयोगले जारी गरेको मापदण्डमा कोरोना लागेका परीक्षार्थीले परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ। परीक्षार्थीले रोग लागेको नलागेको स्वघोषणा गर्नुपर्ने र लागेको भए परीक्षा हलमा बस्न नपाउने उल्लेख छ।

आदेशमा उल्लेख गरिएको छ, ‘सम्पूर्ण परीक्षार्थी तथा कर्मचारीहरूलाई अपुरणीय क्षति हुने हुँदा सुविधा सन्तुलनको दृष्टिकोणले समेत प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म लोक सेवा आयोगले जारी गरेको सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८(१) को कार्यान्वयन नगर्न नगराउन तथा सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिने। परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्ने गर्नु तथा स्वघोषित संक्रमित व्यक्ति हरूलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्था सहित परीक्षा सञ्चालन गर्न व्यवस्था गर्न भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क)बमोजि अन्तरिम आदेश जारी गरिदिएको छ। आदेशको कार्यान्वयनका लागि यसको जानकारी महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षीलाई दिनू।’

 

- २९ आश्विन २०७७, बिहीबार १७:२२ मा प्रकाशित

Kumari Advertisement