मापदण्ड नपुर्‍याई सेनिटाइजर उत्पादन गर्ने कम्पनीमाथि कडाइ

मापदण्ड नपुर्‍याई सेनिटाइजर उत्पादन गर्ने कम्पनीमाथि कडाइ

काठमाडौँ। औषधि व्यवस्था विभागले २० वटा सेनिटाइजर कम्पनीलाई कारबाही गर्ने भएको छ । विभागले मापदण्ड नपुर्‍याई सेनिटाइजर उत्पादन गर्ने ती कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको विभागले जनाएको छ।

अहिले २० वटा सेनिटाइजर कम्पनी हेरिरहेको र अरू कम्पनीका विषयमा उत्पादन ल्याबमा टेस्ट गर्ने काम भइरहेको विभागले जनाएको छ। विभागले तोकेको मापदण्ड इथानोलबाहेकका अन्य रसायन प्रयोग गरेको पाइएकाले कारबाही गरिएको बताइएको छ। मापदण्डभित्रमा रहेका सेनिटाइजर उद्योगलाई उत्पादनका लागि अगाडि बडाइरहेको विभागले जनाएको छ।

मापदण्ड पूरा गरेका सेनिटाइजर बजारमा बिक्री गर्न पाइन्छ। कोभिड–१९ संक्रमण चुलिएसँगै यति बेला ह्यान्ड स्यानिटाइजरको माग बढेको छ। माग बढेसँगै बजारमा कम गुणस्तर र मापदण्ड बाहिरका सेनिटाइजर खुला रूपमा बिक्री भइरहेको पाइन्छ।

गुणस्तरहीन र मापदण्डबाहिरका ह्यान्ड सेनिटाइजरलाई विभागले बिक्रीवितरणमा रोक लगाएको छ। यसैबीच विभागले ४० वटा नयाँ कम्पनीलाई सेनिटाइजर उत्पादनको स्वीकृति दिइसकेको छ। विभागले २०७६ चैत ९ देखि २०७७ असोज २२ सम्म सेनिटाइजर उत्पादन गर्न इच्छुक स्वदेशी उद्योगलाई स्वीकृति दिएको हो।

२६ करोडको सेनिटाइजर, १४ करोडको मास्क
आर्थिक वर्ष २०७७र७८ को साउन र भदौमा २६ करोड ४८ लाख २४ हजार रुपैयाँ बराबरको सेनिटाइजर र १४ करोड ५२ लाख १४ हजार रुपैयाँ बराबरको फेस मास्क आयात भएको भन्सार विभागको तथ्यांक छ । यो अवधिमा ७ लाख १ हजार ३ सय ८१ किलो सेनिटाइजर र १ करोड ६१ लाख ६७ हजार ९ सय २४ केजी फेस मास्क भित्रिएको छ ।

साथै ८ करोड ५५ लाख ६९ हजार रुपैयाँ बराबरको २ लाख १६ हजार ८ सय ९२ किलो अन्य किसिमका डिसइन्फेक्टेड आयात भएको विभागको तथ्यांक छ। सेनिटाइजरबाट विभागले ५ करोड ४४ हजार रुपैयाँ र अन्य डिसइन्फेक्टेडबाट १ करोड ६१ लाख ९० हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

त्यस्तै फेस मास्कबाट २ करोड ७३ लाख १ हजार रुपैयाँ भन्सार महसुल संकलन भएको छ। यी सेनिटाइजर, डिसइन्फेक्टेड र फेस मास्क चीन, भारत, जापान, मलेसिया, थाइल्यान्डलगायत देशबाट आएको विभागको तथ्यांकले देखाउँछ।

कोभिड–१९ को संक्रमण बढेसँगै सेनिटाइजरको प्रयोग, उत्पादन र माग बढेको नेपाल औषधि उत्पादक संघले जनाएको छ । नेपालमा औषधि उत्पादन र बिक्री वितरण गर्ने उद्योग ६० वटा रहेको संघले जनाएको छ।

 

- १ कार्तिक २०७७, शनिबार ०८:१८ मा प्रकाशित

Kumari Advertisement