देशभरका शक्तिपीठ भक्तजनका लागि नखोलिने

देशभरका शक्तिपीठ भक्तजनका लागि नखोलिने

काठमाडौँ। उपत्यकालगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले शक्तिपीठमा भक्तजनलाई प्रवेश गर्न नदिइने भएको हो। पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी, जयवागेश्वरी लगायत शक्तिपीठ दर्शनार्थीका लागि नखोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले नवरात्रीमा मन्दिर सर्वसाधारणका लागि नखोलिने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। तर, पुजारीले नित्य पूजा एवं आरती भने गर्नेछन्।

उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनी लगायत प्रसिद्ध शक्तिपीठ छन्। त्यहाँ आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीसम्म भक्तजनको भीड लाग्छ। यी शक्तिपीठमा शारदीय नवरात्रीमा विशेष पूजा हुने गरेको छ।

कोरोना भाइरसका कारण गत चैतदेखि देशका मुख्य मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ। गृह मन्त्रालयले पनि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी देशभरका शक्तिपीठ भक्तजनका लागि नखोल्न आह्वान गरेको छ।

नवरात्रीको पहिलो दिन आज दशैँघर एवं पूजा कोठामा घटस्थापना सहित जमरा राखेर नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ। नवरात्रीका नौ दिनसम्म नौ वटी देवीको विशेष आराधना गरिन्छ।

 

 

- १ कार्तिक २०७७, शनिबार ०८:३७ मा प्रकाशित

Kumari Advertisement