नवरात्रको पहिलो दिन : घरघरमा राखियो दसैँको जमरा 

नवरात्रको पहिलो दिन : घरघरमा राखियो दसैँको जमरा 

काठमाडौँ। नवरात्रको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा दसैँको जमरा राखिएको छ। दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा जमरा राख्‍ने गरिन्छ। यही अवसरमा काठमाडौंको वसन्तपुरमा रहेको दसैँ घरमा पनि जमरा राखिएको छ।

नेपाली सेनाको टोलीले मङ्गल धुन बजाएर बढाई गरेसँगै शनिबार बिहान ११स् ४६ को शुभसाइतमा जमरा राखिएको हो। कोरोनाका कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जमरा राखिएको शार्दुल जंग गुल्मले जनाएको छ। विश्व नै कोरोनाबाट प्रभावित भएपनि पूजालाई सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर निरन्तरता दिइएको बताइएको छ।

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा रोप्ने गरिन्छ। घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

नवरात्रभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ। महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआराधना गर्ने वैदिक कालदेखिको परम्परा छ।

नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ।

 

 

- १ कार्तिक २०७७, शनिबार १४:०३ मा प्रकाशित

Kumari Advertisement