गरिबी अन्त्य र समृद्धि स्थापना गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

गरिबी अन्त्य र समृद्धि स्थापना गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताएका छन्।

सन्देशमा उनले गरिबीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षा पूरा गर्न सार्थक उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउँदै आएको छ।

उनले गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आँकाक्षा पूरा गर्न सरकार सक्रिय रहेको जानकारीसमेत दिए। सन्देशमा कृषि, पर्यटन, जलविद्युत्, भौगोलिक विविधता, जडिबुटी जस्ता हाम्रा तुलनात्मक लाभका क्षेत्रको समुचित विकास एवं उपयोग गर्न र जनशक्तिलाई मुलुकभित्रै पर्याप्त रोजगारी दिई नेपालीको क्षमताको सदुपयोग गर्न अनवरत प्रयास गरिरहेको उनले उल्लेख गरेका छन्।

अहिले सरकार रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न अग्रसर रहेकोसमेत उनले बताएका छन्।

 

- १ कार्तिक २०७७, शनिबार १४:४२ मा प्रकाशित

Kumari Advertisement