अर्को वर्षको शैक्षिकसत्र गाभ्ने तयारी, विद्यालय सञ्चालन कार्यढाँचाको मस्यौदा तयार

अर्को वर्षको शैक्षिकसत्र गाभ्ने तयारी, विद्यालय सञ्चालन कार्यढाँचाको मस्यौदा तयार

काठमाडौँ। कोभिड–१९ महामारीले गर्दा शैक्षिकसत्र २०७७ गुम्ने स्थितिमा पुगेको छ। शिशु कक्षादेखि कक्षा १२ सम्मको पठनपाठन अझसम्म भौतिक उपस्थितिमा सञ्चालन हुन सकेको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत असार १ गतेदेखि अनलाइन कक्षा सुरु गरेको थियो।

अनलाइन, टेलिभिजन, रेडियो, भर्चुअल कक्षा नीति जारी गरे पनि प्रभावकारी हुन सकेको छैन। वैशाखमा सुरु हुने सत्र ६ महिना बितिसकेको छ। मन्त्रालयले चालु वर्षको सत्र र २०७८ को सत्रसमेत गाभेर अघि बढ्ने आन्तरिक तयारी गरेको छ। त्यसका निम्ति ‘विद्यालय सञ्चालन कार्यढाँचा’ को मस्यौदा तयार गरेको मन्त्रालयले जनाएको छ।

शिक्षा ऐन तथा नियमावलीमा भएको व्यवस्थाअनुसार विद्यार्थी पाठ्यभार जम्मा १ सय ९२ दिन अर्थात् १ हजार २४ घण्टा क्रेडिट आवर रहेको छ। त्यसमा विद्यार्थी कुल दिनको ७० प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ।

संविधानतः विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारको रहेको छ तर संघीय सरकारले लकडाउन जारी गरेसँगै कुनै पनि शिक्षालय सञ्चालन गर्न नदिँदा यो स्थिति आएको विज्ञ बताउँछन्। महामारीको पहिलो चरण नाघेपछि मात्र शिक्षा मन्त्रालयले स्थानीय तहले अनुकूल रहेका क्षेत्रमा विद्यालय सञ्चालन गर्न दिएको थियो।

मन्त्रालयले यसअघि जारी गरेको वैकल्पिक कक्षा भने सञ्चालनमा छन्, जसमा रेडियो, टेलिभिजन, अनलाइन, भर्चुअल कक्षा रहेका छन् तर ग्रामीण तथा दुर्गममा रहेका, प्रविधिमा पहुँच नरहेका अधिकांश विद्यार्थी छुटेका छन्। शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारको फितलो नीतिले गर्दा शैक्षिकसत्र गुम्न पुगेको बताए।

विद्यालयलाई क्वारेन्टाइन र आइसोलेसन सेन्टरका रूपमा प्रयोग गरिए पनि प्रत्येक घरमा बसेका विद्यार्थीलाई आफ्नो परिवेशअनुकूल क्रियाकलापलाई ज्ञानमा जोड्न नसकेको उनको ठम्याइ छ। अनलाइन पहुँच भएका विद्यार्थीलाई गरिएको शिक्षण क्रियाकलापसमेत प्रभावकारी हुन नसकेको उनले उल्लेख गरे।

राष्ट्रिय अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी आगामी चैतमा सकिने शैक्षिक सत्रलाई लिएर विद्यार्थीको मूल्यांकन हुन नसक्ने बताउँछन्। हिमाली भेगका ६ जिल्लामा फागुनदेखि शैक्षिकसत्र सुरु भई माघमा सकिन्छ। बाँकी जिल्लामा वैशाखमा सत्र सुरु भई चैतमा सकिन्छ। चैतमा एसईई हुने परम्परा छ तर यो वर्ष हुने/नहुने कुनै निश्चित भएको छैन।

 

- १८ कार्तिक २०७७, मंगलवार ११:०८ मा प्रकाशित