कुलमानको ठाउँमा हितेन्द्रदेव शाक्यलाई प्राधिकरण जिम्मेवारी?

कुलमानको ठाउँमा हितेन्द्रदेव शाक्यलाई प्राधिकरण जिम्मेवारी?

काठमाडौं। उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा काज फिर्ता गराउन निर्देशन दिएसँगै उनले कार्यकारी निर्देशकको जिम्मेवारी पाउने चर्चा चुलिएको छ।

गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उनलाई काज फिर्ता गर्ने निर्णय गरेको थियो। आजै आफुले काज फिर्ताको पत्र पाएको शाक्यले बताए।

उनी कार्यकारी निर्देशक बन्नका लागि आफ्नो सबै योग्यता पुरा भएको बताउँदै भन्छन,‘बरिष्ठको आधारमा हुनुपर्ने त म नै हो तर उर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिषरिदले टुङ्गो लगाउने भएकाले अहिले नै भन्न सक्ने अवस्था छैन।’यद्यपि, सरकारले आफुलाई कार्यकारी निर्देशकको पनि जिम्मेवारी दिनेमा उनी विश्वस्त देखिन्छन्।

प्राधिकरणका उपकार्यकारी निर्देशकहरूमध्ये उनी सबैभन्दा वरिष्ठ हुन्। रिक्त दरबन्दीमा सिनियरमध्येबाट नै जिम्मेवारी तोक्ने प्रावधान छ। प्राधिकणबाट उनी बाहिर रहेकाले उनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएनन् । यसकारण प्राधिकरणमै भएका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाए।

अहिले उनले नै प्राधिकरण सम्हालिरहेका छन्। शाक्य फिर्ता भएपछि कोइराला भन्दा बरियतामा माथि रहेका शाक्यले निमित्त कार्यकारी निर्देशक पाउँनेछ र पछि उनलाई नै कार्यकारी निर्देशक दिने गरि तयारी थालिएको मन्त्रालय स्रोतले बताएको छ।

४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते कुलमान घिसिङ बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई तोकिएको थियो। कुलमानको कार्यकाल दोहोर्याउँने अभिव्यक्ति मन्त्री पुनले दिएपनि अन्तमा मन्त्रिपरिषदमा यो विषयले ठाउँ पाएन। क्याविनेटले प्राधिकरणको कार्यकारी निर्देशकको विषय टुङ्गो लगाउन नसक्दा विभिन्न नामहरु बेला बेलामा चर्चामा आउने गरेको छ।

- २३ कार्तिक २०७७, आईतवार १३:०५ मा प्रकाशित