प्रधानमन्त्रीद्वारा शिलान्यास भएका निर्माण कार्य सफलपूर्वक अगाडि बढ्दै

प्रधानमन्त्रीद्वारा शिलान्यास भएका निर्माण कार्य सफलपूर्वक अगाडि बढ्दै

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ। कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम चरणमा छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेको परियोजना प्रमुखसँगको निरन्तर प्रगति समीक्षा तथा परियोजनाको अनुगमन र सहजीकरण गर्दा शिलान्यास गरिएका ती परियोजना अगाडि बढ्न सम्भव भएको जनाइएको छ।

ओली दोस्रो कार्यकालका लागि २०७४ फागुन ३ गते प्रधानमन्त्री भएका थिए।दोस्रो कार्यकालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले अहिलेसम्म २८ वटा परियोजनाको शिलान्यास गरेका छन्। शिलान्यास गरिएका परियोजना सफल रूपमा अगाडि बढेको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए। प्रधानमन्त्री भएपछि उनले महाराजगञ्ज शिक्षण अस्पताल अन्तर्गत रहेको मनमोहन सेन्टर एनेक्स भवनको २०७४ फागुन १८ गते पहिलो शिलान्यास गरेका थिए। गत कात्तिक १९ गते सो भवनको उद्घाटन उनले गरिसकेका छन्।

त्यसैगरी २०७४ फागुन २५ गते दोस्रो शिलान्यास गरिएको पाँच सय शय्या क्षमताको वीर अस्पताल सर्जिकल भवनको निर्माण कार्य अन्तिम चरणमा छ। त्यसैगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको मुलुककै पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा–सिस्नेखोलाको निर्माण सुरु भइसकेको छ।

- २४ कार्तिक २०७७, सोमबार ०८:१७ मा प्रकाशित