पर्यटन संभावनाको खानीःमैवाखोला गाँउपालिका

पर्यटन संभावनाको खानीःमैवाखोला गाँउपालिका

लेखकः बुद्दिमान परियार

परिचय
नेपालको सुदुर उत्तर पूर्बी जिल्ला ताप्लेजुङको दक्षिण पश्चिम भागमा रहेको अति सुन्दर क्षेत्र मैवाखोला गाँउपालिका हो। संविधान जारी हुनु भन्दा अगाडीको संरचना अनुसार फाकुम्बा, साँघु र ढुङ्गेसाँघु गाबिस रहेको यस गाँउपालिका २०७३ सालमा संघीय मामिला तथा स्थानीय मन्त्रालयले ७५३ स्थानीय तह लागु गरेपछि यी साविकका गाबिसको संयुत्त रुप हाल मैवाखोला गाँउपालिका बन्न पुगेको हो।

१३८ बर्गकिलोमिटरमा फैलिएको यस गाँउपालिकाको सीमाना पूर्बमा ताप्लेजुङ जिल्लाको आठराइ त्रिवेणी गाँउपालिका र मेरिङ्देन गाउपालिका पश्चिममा संखुवासभा जिल्लाको चैनपुर नगरपालिका, पाँचखपन नगरपालिका र सभापोखरी गाँउपालिका उत्तरमा मेरिङ्देन गाँउपालिका र दक्षिणमा तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका सम्म फैलिएको छ। प्रतिनिधि सभामा १ निर्वाचन क्षेत्र र प्रदेशसभामा निर्वाचन क्षेत्र ख अन्तर्गत पर्ने ताप्लेजुङ जिल्लाको यो गाउपालिकामा जम्मा ६ वटा वडाहरु छन् साविक ढुङ्गेसाँघुको १ वडादेखि ५ सम्म हाल १ वडाभएको छ ६ देखि ९ सम्म हाल वडा नं २ साविक साँघु गाबिसको वडा १ देखि ६ सम्म हाल वडा नं ३ र वडा ७ देखि ९ सम्म हाल वडा नं ४ तथा साविक फाकुम्बा गाबिसको वडा नं १ देखि ४ सम्म हाल वडा नं ५ र वडा ५ देखि ९ सम्म हाल वडा नं ६ कायम गरिएको छ।सुन्दरताको अनुपम उपहार प्रकृतिको बरदान मैवाखोला गाँउपालिका साच्चिकै मनमोहक रमणीय र सुन्दर छ।

यहाँ पुग्ने जो कोहिलाइ पनि प्राकृतिक सौन्दर्यताले लोभ्याउँछ र आनन्दीत तुल्याउँछ। तर प्रचार प्रसारको कमि र पर्यटन प्रवर्ध्दनलाइ व्यवस्थित गर्न नसक्दा पर्यटनका अथाह संभावना पनि ‌ओझेलमा परेको छ। मैवाखोला गाँउपालिकामा पर्यटन विकास र प्रवर्ध्दनको लागि यस क्षेत्रमा पर्यटकीय महत्व र संभावना बोकेका सम्पदाहरु अत्यन्तै धेरै रहेका छन् यसलाइ निम्नअनुसार उल्लेख गरिन्छ।

*मिल्के क्षेत्रः जैविक विविधता र मनोरम प्राकृतिक दृश्यहरुको संगमस्थल गुराँसको राजधानीले नामाकरण गरिएको त्ःव् क्षेत्रमा गुराँसका ३५ मध्ये २८ प्रजातिका गुराँस पाइन्छ एकै ठाँउमा यति धेरै गुराँसहरु पाइने मिल्के क्षेत्र चैत्र वैशाखमा बेहुली सजिए झै सिगारिएर धपक्क बलेको हुन्छ। गुराँसको सुन्दरताले सजिसजाउ मात्र होइन यो क्षेत्र जैविक विविधताको दृश्टिले पनि अति सम्पन्न छ। साथै विभिन्न प्रजातिका वनस्पतिहरु जडिबुटिहरुका अलवा कस्तुरी, हाब्रे, नाउर, भालु र अन्य असख्य वन्यजन्तुहरु र विभिन्न चराचुरुङ्गीहरु डाफे,मुनाल, लुइचे,कालिज,भ्याकुरआदी पनि यस क्षेत्रमा प्रसस्तै पाइन्छ।

यस क्षेत्रबाट गुराँसको सुन्दर फाँटहरुका अतिरिक्त पाथीभरा, मानाभरा, जलजले कंचनजंघा, कुम्भकर्ण ,मकालु र सगरमाथा हिमालसम्मको अति मनरम हिम श्रङ्खलाको दृश्यावलोकन गरि आनन्द लिन सकिन्छ। यो क्षेत्र मैवाखोला गाँउपालिका तथा ताप्लेजुङ जिल्ला प्रवेश गर्ने मदन भण्डारी मार्गको मुख्य प्रवेश द्वार मात्र नभइ उत्तरतर्फ रहेको विशाल तोक्पेगोला लुम्वासुम्बा क्षेत्रमा प्रवेश गर्ने मुख्य विन्दु पनि हो।

उत्तरतर्फका ती क्षेत्रलाइ सडक रहित पर्यावरणीय क्षेत्रको रुपमा सुरक्षित राख्ने सन्दर्भमा यो नाका विराटनगर–धरान-वषन्तपुर-गुफा सडक को अन्तिम उत्तरि विन्दु समेत हुन सक्ने संभावना रहेको छ।यस मिल्के नाकालाइ भविश्यमा पर्यटक सेवा तथा सुचना केन्द्र सहित यो क्षेत्रकै प्रमुख पर्यटकीय प्रशासनिक मुकामको रुपमा विकास गर्न सकिने संभावना उत्तिकै छ।
*मिल्के बाट विभिन्न ठाँउमा जाने पर्यापर्यटकीय पदमार्गहरुः
१₎ मिल्के- डल्ले-गिद्दे-असाङ्लुङ -साम्तुङ-दोभान पर्यापर्यटकीय पदमार्ग
२₎ मिल्के- डल्ले- गिद्दे–जलजले-सवापोखरी धार्मिक एंव पर्यापर्यटकीय पदमार्ग
३₎ मिल्के- डल्ले- गिद्दे-जलजले- सवापोखरी- तोक्पेगोला-फङफङदेन झरना- दोभान पर्यापर्यटकीय पदमार्ग
४₎ मिल्के- डल्ले- गिद्दे-जलजले- सवापोखरी- तोक्पेगोला- थुदाम-संखुवासभा पर्यापर्यटकीय पदमार्ग
५₎ मिल्के-डल्ले- गिद्दे-जलजले-सवापोखरी-तोक्पेगोला-लुम्बासुम्बा-ओलाङचुङगोला पर्यापर्यटकीय पदमार्ग

मैवाखोला गाउँपालिकामा पाइने आकर्षक झरना र पोखरीहरुः
झरनाहरुः
१₎ सिन्धोलुङ मैवा झरना २₎ फुङफाङ र अछिरे झरन ३₎ माङ्माया झरन ४₎ छाँगा रिङ्बोअर्थातलामो झरन ५₎ चाँदनी झरना
पोखरीहरुः
१₎ झ्याँउ पोखर २₎ भुतेपोखर ३₎ जलजले पोखरी ४₎ पोथी पोखरी ५₎ हेङ्वा पोखरी ६₎ काली पोखर ७₎ पानी पोखर ८₎ नेर्वा पोखरी ९₎ सहकाल पोखर १०₎ बोझे पोखरी।
मैवाखोला गाउँपालिका भित्र रहेका ‌ऐतिहासिक धार्मिक साँस्कृतिक महत्वका सम्पदाहरुः
१₎ असाङ्लुङ याःचोत्लुङ मैवाखोला गाँउपालिका वडा नं ६ साम्तुङमा अवस्थित करिब ५० मिटर ₍कतिपयले २५० मिटर भनी उल्लेख गरेको₎ अग्लो अद्भुत ढुङ्गा असाङ्लुङ हो। गाँउपालिकाको केन्द्र साँघुबाट साम्तुङ हुदै असाङ्लुङ पुग्न करिब २ दिन लाग्छ। ठूलो ऐतिहासिक धार्मिक महत्व बोकेको असाङ्लुङ लाइ एक अद्भुत स्थलको रुपमा लिइन्छ। याक्थुम ₍ लिम्बु₎ जातीभित्र बिभिन्न पूजा अनुष्ठान र धार्मिक कर्मकाण्ड पूरा गर्ने फेदाङ्मा साम्बा येबा येमाहरु हुन्छन्। ती मध्ये येबा येमाहरुले खास गरि प्रेतात्मालाइ पन्छाउने वा उसबाट हुने क्षति रोक्ने कार्य गर्दछन्।

त्यस्तो अनुष्ठान सम्पन्न गर्ने समयमा येबा येमाले शिरमा पक्षीहरुको प्वाँख जडित कल्की लगाउने गरिन्छ त्यसलाइ असाङ भनिन्छ। यो भीमकाय ढुङ्गा असाङ जस्तै देखिने भएकोले यसलाइ असाङ्लुङ भनिएको हो। असाङ्लुङको बारेमा र दैबिक शक्तिको बारेमा बिभिन्न किंवदन्तिहरु पनि छन्।

२₎फागोहाङ माङ्गेन्ना यकः मैवाखोला गाँउपालिका वडा नं २ पिरेङ्गेमा रहेको सिन्धोलुङ मैवा थुमका आदिम् पुर्खा फागोहाङको माङ्गेन्नायक ऐतिहासिक धार्मिक सास्कृतिक स्थल हो।

३₎खोपीचौर गुफाः मैवाखोला गाँउपालिका वडा नं ३ मा रहेको खोपीचौर गुफामा लिम्बुवानका बीर सेनानी काङ्सोरेले आश्रय लिएको र सो स्थानमा उनको घोडा बाँधेको निशानि समेत सुरक्षित रहेको दाबी गरिएको छ।

४₎ देवल ढुङ्गाः मैवाखोला गाँउपालिका वडा नं ५ मा करिब २० फिट अग्लो अण्डाकार ढुङ्गालाइ देवल ढुङ्गाको नामले चिनिन्छ।

५₎ किरातेश्वर महादेवस्थलः मैवाखोला गाँउपालिका वडा नं ५ मा ओर्खुमको भित्ता नजिकै खानीगौडामा रहेको किरातेश्वर महादेवस्थल एक महत्वपूर्ण धार्मिक स्थल हो। यहाँ एउटा गुफा छ जसभित्र मानव निर्मित पशुपक्षी नाग र गाइको नक्शा र किरातेश्वर महादेवको मुर्ति रहेको छ। त्यसभित्र गाइको थुनको आकृतिको ढुङ्गाबाट दुध झर्ने कहिले काहि घण्टी बज्ने र भित्रभित्रै खोला बगेको आवाज आउने गर्दथ्यो भन्ने भनाइ पनि छ।

६₎ किरातेश्वर मन्दिरः मैवाखोला गाँउपालिका वडा नं ३ मा किरात माङ्हिम निर्माण गरिएको छ। यसलाइ आन्तरिक पर्यटकहरुको गन्तव्यस्थलको रुपमा विकास गर्न सकिन्छ।

७₎ साँघुपाटीः मैवाखोला गाँउपालिका वडा नं ३ स्थित साँघुपाटी वि सं १८०१ मा फागो चोङ्बाङ पुर्खाहरुले निर्माण गरिएको प्राचीन संरचना हो। यसको आसपासमा गाँउपालिका भवन नारायणी उच्च मावि र बजार क्षेत्र विस्तार भएको छ।

८₎ मुलपानी देबीः मैवाखोला गाँउपालिका वडा नं २ स्थित मुलपानी देबीस्थान आसपासमा चरिरहेका भैंसी गोठ एकाएक हराएको र गाइ चढाउने भाकल गरेपछि बल्ल भैंसी गोठ सोही स्थानमा फिर्ता भएको भन्ने आचर्यजनक किम्वदन्ती रहेको यो स्थानलाइ जीवित देवीको वासस्थानको रुपमा मान्ने गर्दछन्।

९₎ गुम्बाहरुः बाघेधारा गुम्बा चीनीयाँ कालिगढले बनाएको २०० बर्ष पुरानो मुर्ति रहेको साङ् दिकी छ्योलिङ् गुम्बा उर्गेन छ्योलिङ गुम्बा खोपीचौर गुम्बा दोर्ची छ्योलिङ् गुम्बा कर्मा छ्योलिङ् गुम्बा ङाङ्योर छ्योलिङ् गुम्बा र टासी छ्योलिङ् गुम्बा यहाँको मुख्य गुम्बाहरु हुन्। वडा नं २ मा रहेको साङ् दिकी छ्योलिङ् गुम्बालाइ बौद्द धर्मावलम्वीहरुको मुख्य तीर्थस्थलको रुपमा विकास गर्न सकिन्छ भने वडा नं स्थित संखटे डाँडामा रहेको कर्मा छ्योलिङ् गुम्बाको मर्मत गरि भ्यु टावर वनभोज स्थलसहित शहिद स्मारक पार्क समेत निर्माण गर्न सकिन्छ।

१०₎ मदन भण्डारी जन्मघरःनेपाली कम्युनिष्ट आन्दोलका नवीन विचारक जनताको बहुदलीय जनवादका प्रबर्तक तथा नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता कमरेड मदन भण्डारीको जन्मघर यही गाँउपालिकाको वडा नं २ स्थित लेकुवा (ठोट्ने) मा रहेको छ। यो घरको संरक्षण गरि भविश्यमा वामपन्थी चिन्तकहरु नेता कार्यकर्ता र समर्थकहरु एवं राजनीतिशास्त्र र दर्शनशाश्त्रका अध्येताहरुको आकर्षणको थलोको रुपमा विकास गर्न सकिन्छ।

मैवाखोला गाँउपालिकामा प्राकृतिक सुन्दरता,सास्कृतिक एंव धार्मिक ऐतिहासिक महत्व बोकेका सम्पदाहरुका साथै खेलकुद मेला र मनोरन्जनका स्थलहरु पनि छन्। साँघुबजार बीचमा अत्यन्तै सुन्दर एक खेल मैदान छ भने यसैको आसपासमा राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला निर्माणाधीन अवश्थामा छ। यसको अतिरिक्त लेकुवा खेलमैदान, तेम्बे खेलमैदान, गैरे खेलमैदान, ढुङ्गेसाँघु बरझ्याङ खेलमैदान, तेल्लाबुङ खेलमैदान रहेका छन्। यी खेलमैदानहरुमा खेल विकासको निम्ति अभ्यासहरु भैरहन्छन् भने बेला बेलामा आकर्षक पुरस्कार सहितको खेलकुद प्रतियोगिताको पनि आयोजना गरिन्छ।

विशेष गरि महाशिवरात्रीको अवसरमा मैवाखोला ३ साँघुमा शिवरात्रि मेला सँगै विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिन्छ बर्षमा एक पल्ट आयोजना गरिने यस कार्यक्रमलाइ खेल उत्सवको रुपमा पनि लिइन्छ। यस क्षेत्रमा डल्ले,गिद्दे, गोरुजुरेर मिल्केबाट साँघुबजार सम्म प्याराग्याडिङ गर्न सकिने पनि संभवना त्यत्तिकै छ।यसकारण मैवाखोला गाँउपालिकामा खेलकुद पर्यटनको संभावना पनि प्रवल रहेको छ।
अन्त्यमा पर्यटन क्षेत्र आर्थिक विकासको एक महत्वपूर्ण आधार स्तम्भ हो। यसकारण स्थानीय सरकार मैवाखोला गाँउपालिका प्रदेश सरकार र संघीय सरकार लगायत निजि क्षेत्रले पर्यटन विकासमा दीर्घकालिन योजना बनाइ पर्यटन प्रवर्दन गर्न अघि बढ्ने छ भन्ने अपेक्षा गरिन्छ।

लेखकः बुद्दिमान परियार
(पूर्ब सदस्य राष्ट्रिय दलित आयोगतथा कंचनजंघा पर्यटन प्रवर्द्दन केन्द्रका केन्द्रीय उपाध्यक्ष समेत हुन् )

- ३० कार्तिक २०७७, आईतवार २१:५१ मा प्रकाशित