देशभर चिसो बढ्यो : काठमाडौंको तापक्रम पाँच डिग्री

देशभर चिसो बढ्यो : काठमाडौंको तापक्रम पाँच डिग्री

काठमाडौँ। देशभर न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनतम तापक्रम घटेर जुम्लाको तापक्रम माइनस २ दशमलव ५ डिग्री सेल्सियस तथा जीरीको तापक्रम माइनस शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ।

जुम्ला र जीरीपछि सबैभन्दा चिसो काठमाडौंमा छ। काठमाडौंको शुक्रबार बिहानको तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

यसअघि बिहिबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ५ दशमलव ६ डिग्री थियो।

यसैगरी ताप्लेजुङको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस, लुम्लेको ७ दशमलव ३ डिग्री सेल्सियस, ओखलढुंगामा ७ दशमलव ५ डिग्री सेल्सियस र विरेन्द्रनगरको बिहीबारको न्यूनतम तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

देशभरी नै न्यूनतम तापक्रम घटेसँगै बिहान हुस्सु र कुहिरो लाग्ने भएकाले गाडी चलाउँदा र यात्रा गर्दा ख्याल गर्न मौसमविद्ले सुझाव दिएका छन्।

मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबार पहाडी क्षेत्रको मौसम आशिंक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ। मौसम बदली भएपनि अहिले तत्काल पानी भने कतै पनि नपर्ने मौसमविद् कँडेलको भनाइ छ।

- ५ मंसिर २०७७, शुक्रबार ०८:१४ मा प्रकाशित