यो वर्ष धान उत्पादन बढ्ने अनुमान

यो वर्ष धान उत्पादन बढ्ने अनुमान

काठमाडौं। रासायनिक मल यूरियाको चरम अभावकाबीच यस वर्ष धान उत्पादन बढ्ने भएको छ। मल नपाएर अतालिएका किसानले अन्य वर्षको भन्दा बढी धान यो बर्ष फलाएको कृषि विकास मन्त्रालयले गरेको अनुमान गरेको हो।

कोरोना महामारीका कारण सरकारले प्रमुख कृषि धान बालीका लागि अनुदानमा दिएको मल समेत आयात गर्न नसके पनि कृषकहरूले आफ्नै बल बुताले बढी धान फलाएर देखाएका हुन्। सरकारले कोरोनाबाट नागरिकलाई दिनुपर्ने सुरक्षानुभूती दिन नसकेपनि कृषकले भने आफ्नो दायित्व निर्वाह गरेर यो महामारीमा राज्यप्रति आफ्नो दायित्व पूरा गरेका छन्।

देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी बढ्ने)मा कृषि क्षेत्रको योगदान करीब २७ प्रतिशत छ। कुल कृषिको उत्पादनमध्ये धान एक्लैको योगदान करीब २१ प्रतिशत रहेको मानिन्छ। धान उत्पादन बढ्नुको अर्थ देशको कुल गार्हस्थ्य उत्पादनमा समेत सकारात्मक योगदान पुग्नु हो।

मन्त्रालयले गरेको प्रारम्भिक अनुमान अुनसार देशभरिको धान उत्पादनको तथ्यांकलाई हेर्दा यस वर्ष १ प्रतिशतदेखि ५ प्रतिशतसम्म धान उत्पादन बढ्ने देखिएको छ। मन्त्रालयले यस वर्ष ५६ लाख मेट्रिक टनभन्दा धेरै धान फलेको हुनसक्ने अनुमान गरेको हो।

यस अघि आर्थिक वर्ष २०७५र७६ मा अहिलेसम्मकै धेरै ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। धानको उत्पादन बढनुको पछाडि अनुकुल मनसुनी वर्षा तथा बीउको प्रतिस्थापन राम्रो रहनुलाई मुख्य कारण मानिएको छ।

कृषि विभागको तथ्यांक अनुसार, यो वर्ष धान रोपाई हुने क्षेत्रफलमध्ये ९८.३८ प्रतिशतमा रोपाई भएको थियो। गत वर्ष ९४.४३ खेतमा मात्र रोपाई भएको थियो। गत वर्षको तुलनामा रोपाई समेत चाँडो सकिएको सकिएकोले पनि धान उत्पादन बढेको मन्त्रालयले बताएको छ। देशभर १३ लाख ७१ हजार क्षेत्रफल जमीनमा धान रोपाईँ हुन्छ।

- ५ मंसिर २०७७, शुक्रबार ०९:५६ मा प्रकाशित