नलगाड जलविद्युत् आयोजनाको डीपीआर तत्काल सम्पन्न गर्न पुनको निर्देशन

नलगाड जलविद्युत् आयोजनाको डीपीआर तत्काल सम्पन्न गर्न पुनको निर्देशन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नगलाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

जाजरकोटमा आयोजनास्थल रहेको कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको डीपीआरको तयारीमा नै लामो समय लागेको गुनासो आएपछि मन्त्री पुनले उक्त निर्देशन दिए।

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल र नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनराज पन्त र कार्यकारी अधिकृत रामगोपाल लगेजु सहभागी छलफलमा मन्त्री पुनले तत्काल डीपीआर सक्न निर्देशन दिएका हुन्।

चार वर्षभन्दा लामो समयदेखि डीपीआरको काम जारी रहे पनि अझै पूरा हुनसकेको छैन। परामर्शदाता कम्पनी एमडब्लुएच कन्सलटेन्टले डिपिआर ३२ महिनाभित्र सक्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो।

त्यसयता पटकपटक म्याद थप हुँदै आएको छ। मन्त्री पुनले कर्णाली प्रदेशको मुहार फेर्ने आयोजना भएकाले डिपिआरको काम तत्काल सकेर आयोजना निर्माण थाल्नुपर्नेमा जोड दिए।

नलगाड आयोजना क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुङ्गा हुने मन्त्री पुनको भनाइ थियो।

मन्त्री पुनले आयोजना निर्माणका लागि वैदेशिक लगानी जुटाउन सरकार प्रयासरत रहेको जानकारी पनि दिए। जापानी सहयोग नियोग ९जाइका० ले नलगाडमा लगानीको इच्छा देखाएको भन्दै उहाँले विभिन्न चरणमा मन्त्रालय र जाइकाबीच लगानीबारे संवाद भइरहेको उल्लेख गरे।

- ६ मंसिर २०७७, शनिबार १८:४२ मा प्रकाशित