सात जना शिक्षकमा कोरोना देखिएपछि सबै विद्यालय मंसिर १५ सम्म बन्द

सात जना शिक्षकमा कोरोना देखिएपछि सबै विद्यालय मंसिर १५ सम्म बन्द

गोरखा।   गोरखा नगरपालिकामा सात जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि सबै विद्यालय मंसिर १५ सम्म बन्द रहने भएका छन्।

नगरपालिकाले प्रत्यक्ष सिकाइ सहजीकरण निर्देशिकाले तोके बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन विद्यालयहरुलाई अनुमति दिएको थियो। त्यसअनुसार दसैंपछि विद्यालयहरु खुलेका थिए। तर सात शिक्षक र केही अभिभावकमा कोरोना संक्रमण देखियो। नगरपालिकाले कात्तिक २४ देखि मंसिर ६ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गर्‍यो।

सक्रिय संक्रमितको संख्या ६५ पुगेपछि मंसिर १५ सम्म शैक्षिक संस्था बन्द राख्ने नयाँ निर्णय भएको छ। संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्क्रिनिङ गरी स्थिति सामान्य अवस्थामा ल्याउन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगर क्षेत्रमा ४९ वटा सामुदायिक, १८ संस्थागत र १० वटा धार्मिक विद्यालय छन्।

- ६ मंसिर २०७७, शनिबार १९:०६ मा प्रकाशित