पार्टीमा विवाद छ तर फुट्दैन: नेता रावल

पार्टीमा विवाद छ तर फुट्दैन: नेता रावल

डोटी। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताएका छन्।

डोटीको पूर्वीचौकी गाउँपालिका २ को बग्लेकमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले पार्टीमा आन्तरिक विवाद भए पनि कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताए। उनले भने, ‘पार्टीमा विवाद छ तर फुट्ने कुरा छैन, विवाद समाधान गरेर पार्टी मजबुत भएर जाने छ।’

नेता रावलले सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा विवाद हुने अवस्था देखिए पनि सबै समस्या तथा मनमुटाव समाधान हुने दाबीसमेत गरे। उनले भने, ‘नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ तर पार्टी नै फुटिहाल्छ भन्ने अवस्था छैन।’ नेकपाका सबै नेताहरु लोकतन्त्रमा विश्वास राख्ने भएका कारण पार्टी कमिटीले गरेको निर्णय दुवै अध्यक्षले अनिवार्य मान्नुपर्ने तथा मान्दिनँ भन्न कसैलाई पनि छुट नभएको उनले बताए।

जनमतको कदर गर्नकै लागि भए पनि पार्टी सधैँ एक ढिक्का भएर जानेसमेत उनको भनाइ छ।

फरक प्रसङ्गमा बोल्नुहुँदै नेता रावलले नेकपा भ्रष्टाचार विरोधी पार्टी भएकाले पार्टीमा भ्रष्टाचार गर्ने जो केहीलाई पनि कारबाही हुने बताए। नेकपा सरकारको पालामा भ्रष्टाचार बढ्यो भन्नु प्रतिपक्षको आरोप भएकाले त्यस्ता आरोपमा कुनै विश्वास नभएको उनको भनाइ थियो।

- ६ मंसिर २०७७, शनिबार २०:०४ मा प्रकाशित