उखु किसानले थाले काठमाडौं केन्द्रित आन्दोलन

उखु किसानले थाले काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं। सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन्। चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आइतबारदेखि उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका छन्। 

उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्। माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरूको चेतावनी छ।

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रका अनुसार सरकारले किसानसँग गरेको पटक-पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको मिश्रले बताए।

उनीहरूले तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर हाम्रो माग राखेका थिए । मन्त्रीले पैसा दिलाइदिने बाचा गरेका थिए। तर, किसानसँग भएको सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नु परेको किसानहरुले बताएका छन्।

काठमाडौं केन्द्रित आन्दोलनको कार्यक्रमअन्तरगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो व्यथा सुनाउने लगायतका तयारी किसानहरूको छ।

 

 

- २८ मंसिर २०७७, आईतवार १३:०० मा प्रकाशित