कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमित महिलाको मृत्यु

२५ माघ, काठमाण्डौं । सुर्खेतमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीय महिलाको मृत्यु भएको हो । उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताएका हुन् ।

अधिकृत कँडेलका अनुसार माघ १५ गते कोरोना संक्रमण पुष्टि भएको उनीलाई १८ गते प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । यसअघि पनि उनलाई उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग रहेको उनले जानकारी दिए ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले उनको शव व्यवस्थापन गरिरहेको महाशाखाले बताएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या ३१ पुगेको उनले जानकारी दिए ।

- २५ माघ २०७७, आईतवार १३:३४ मा प्रकाशित