पिएरेको ह्याट्रिक संगै आर्सनलको जित

पिएरेको ह्याट्रिक संगै आर्सनलको जित

३ फागुन, काठमाडौं । पिएरे एमरिक औवामेयाङको ह्याट्रिकसंगै आर्सनलले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ४-२ ले पराजित गरेको छ । घरेलु मैदान एमरिट्स स्टेडियममा भएको खेलमा लण्डन क्लबले पहिलो हाफमै ३ गोल गरेको थियो ।

पिएरेले खेलको १३औं र ४१औं मिनेटमा गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाएका हुन् । पहिलो हाफको अन्त्य तिर हक्टर बेलेरिनले गोल गर्दै आर्सनललाई ३-० को अग्रता दिलाए । ४७औं मिनेटमा पिएरेले तेस्रो गोल थपेर ह्याट्रिक पूरा गर्दै आर्सनललाई ४-० को अग्रता दिलाएका हुन् ।

लिड्सका लागि पास्कल स्टुजिकले ५८औं र हेल्डर कोस्टाले ६९औं मिनेटमा गोल फर्काए । जितपछि २४ खेलबाट ३४ अंक जोड्दै आर्सनल १०औं स्थानमा उक्लेको छ । २३ खेलबाट ३२ अंकसहित लिड्स ११औं स्थानमा छ ।

सातौं स्थानको एभरटन भने रेलिगेनस जोनमा रहेको फुलहमसँग २-० ले पराजित भयो । एभरटनलाई उसैको मैदानमा पराजित गर्न फूलहमका लागि जोस माजाले दुवै गोल गरे । उनले ४८औं र ६५औं मिनेटमा गोल गरे ।

एभरटन २२ खेलबाट ३७ अंकसहित सातौं स्थानमा छ । फूलहम २३ खेलबाट १८ अंक जोड्दै पुछारबाट तेस्रो अर्थात १८औं स्थानमै छ ।

- ३ फाल्गुन २०७७, सोमबार १४:१३ मा प्रकाशित