कोरोना भाइरस नियन्त्रण मापदण्डमा सरकारले दोहोरो नीतिले हिमाल आरोहीहरुले गन्तव्य परिवर्तन गर्ने जोखिम

कोरोना भाइरस नियन्त्रण मापदण्डमा सरकारले दोहोरो नीतिले हिमाल आरोहीहरुले गन्तव्य परिवर्तन गर्ने जोखिम

३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण मापदण्डमा सरकारको दोहोरो नीतिले यो वर्ष पनि हिमाल आरोहीहरुले गन्तव्य परिवर्तन गर्न सक्ने जोखिम बढेको छ । मुलुकभित्र सरकारकै आह्वानमा सामाजिक दूरी कायम नगरी जुलुसहरु आयोजना भइरहेका हुन्छन् ।

विदेशीले भने आफूलाई कोरोना नभएको प्रमाणित गरेर मात्र नेपाल आउन पाउने व्यवस्था लागू गरिएको छ । विदेशी नागरिक नेपाल प्रवेश गरेपछि ७ दिन क्वारेन्टिनमा बस्नै पर्ने प्रावधान छ । उता, पाकिस्तानले पर्वतारोहीलाई क्वारेन्टिन बस्नु पर्ने नियम हटाएका छन् । नेपालले कोरोना प्रोटोकल परिमार्जन नगरे यो वर्ष आरोहीहरुले विश्वको दोस्रो अग्लो हिमाल (माउण्ट के टु) रहेको पाकिस्तानलाई गन्तव्य बनाउने अवस्था देखिएको पर्यटन व्यवसायीहरुले बताउँछन् । हरेक दिन यस्तो गुनासो आइरहेको पर्यटन विभागकी निर्देशक मिरा आचार्य बताउँछिन् ।

‘ट्राभल एजेन्सिहरुबाट आउने गुनासामध्ये अधिकांश क्वारेन्टिनसँग सम्बन्धित हुन्,’ उनी भन्छिन्, ‘सबैले आगामी सिजनमा पनि पर्वतारोही अन्तै भड्किन सक्ने बताइरहेका छन् ।’ वसन्त ऋतु सगरमाथा आरोहणको सिजन हो । यो बेला सर्वाधिक खर्चालु पर्यटक नेपाल आउने गर्दछन् । करिब २ महिना बस्ने गरी हजारौं पर्यटक आउँदा नेपालमा औसतः पर्यटकको बसाइ अवधि पनि १३ दिन हाराहारी पुग्छ । कोरोनाका कारण सन् २०२० को वसन्तु ऋतुयता पर्यटक आगमनमा ओरालो लागेको हो । यसको प्रभाव समग्र अर्थतन्त्रमा देखिएको छ ।

पर्वतारोहीले नेपाल आउँदा ट्राभल बिमा भन्दा छुट्टै ५ हजार डलरको बिमा गर्नुपर्छ । २०१९ मा करिब डेढ दर्जन आरोहीको मृत्युका कारण नकारात्मक प्रचार भएको र २०२० पछि ठप्प भएको सगरमाथामा आरोही आकर्षित गर्न सरकारको तर्फबाट कुनै ठोस नीति आओस् भन्ने अपेक्षा छ । कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष आरोहण अनुमति लिएर पनि आरोही हिमाल जान पाएनन् । यसरी रोकिएका आरोहीको आरोहण अनुमति दुई वर्ष लम्ब्याउने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाइएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए ।

- ३ फाल्गुन २०७७, सोमबार १५:२८ मा प्रकाशित