
४ फागुन काठमाडौं । सोभियन संघ विघटन भए पछी रसियाले पहिलो पटक नेपालको रेल मार्ग विस्तारमा रसियाको चासो देखाएको छ। संघ विघटन हुनुअघि नेपालका ठूला पूर्वाधारमा लगानी आएको भएपनि त्यसपछि भने महत्वपूर्ण कुनै पनि पूर्वाधारमा रसियन लगानी आएको थिएन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ्गसँग नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले शिष्टाचार भेट गरी नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने चासो देखाएका हुन् । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटवार्तामा नेपालको रेलवे विस्तारमा रसियाले लगानी गर्न इच्छुक रहेको राजदुत नोभिकोभले बताएका छन् । रसियन रेलवेको तर्फबाट मन्त्रालयमा आशयपत्र समेत बुझाइएको छ ।
भेटमा मन्त्री नेम्बाङ्गले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वय नभएका कारण सम्बन्ध सुमधुर रहेपनि पूर्वाधार क्षेत्रमा महत्वपूर्ण साझेदारी नभएको बताए ।
काठमाण्डौको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको तर प्रविधि र दक्ष जनशक्तिका साथै लगानीको समेत अभाव रहेको उल्लेख गर्दै मन्त्री नेम्बाङले हाल मेट्रो रेलको रेखाङकन, पूर्व सम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना रिर्पोट (डिपीआर) समेत तयारी भइसकेको र सो दस्तावेज रसियन पक्षलाई उपलब्ध गराउन तयार रहेको बताए ।
रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न नेपाल सरकार तयार रहेको मन्त्री नेम्बाङको बनाई छ ।
रसिया र विश्वको विभिन्न अन्य मुलुकमा रेल सम्बन्धी रसियन टेक्नोलोजी उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालको लागि समेत कोशेढुगा हुने रसियन प्रतिनिधि मण्डलले उल्लेख गरेका छन् । पहाडी इलाकामा रसियन रेलवे टेक्नोलोजी जापानले अपनाएको उल्लेख गर्दै प्रतिनिधि मण्डलले नेपाललाई समेत प्रविधि हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।
नेपालमा रुसी सहयोगमा कान्ति बाल अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषिऔजार कारखाना, विरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्पाईन प्लाण्ट जस्ता पूर्वाधार निर्माण भएका थिए ।
उक्त भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सहसचिव रामहरी पोखरेल, रेल विभागका महानिर्देशक प्रमिलादेवी बज्राचार्य सहभागी थिए ।
- ४ फाल्गुन २०७७, मंगलवार १२:५४ मा प्रकाशित