सेयर लगानीकर्ताको पुँजी ७ महिनामै १६ खर्बले बढ्यो

सेयर लगानीकर्ताको पुँजी ७ महिनामै १६ खर्बले बढ्यो

४ फागुन, काठमाडौैं । धेरै समयपछि ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने उल्लेख्य वृद्धि भएको हो । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको छ । गत असार मसान्तमा सेयर बजारको पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।

७ महिनाको अवधीमा बढेर माघ मसान्तसम्म सेयर बजारको पुँजीकरण ३४ खर्ब ६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ नाघेको हो । एक महिनाकै अवधीको तुलना गर्ने हो भने पनि ४ खर्ब हाराहारीले पुँजीकरण बढेको छ । गत पुस मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । सेयर बजार पुँजीकरण भनेको सूचीकृत कम्पनीहरुको बजार मूल्य हो । पछिल्लो समय कम्पनीहरुको सेयर मूल्य बढ्दै जादा लगानी कर्ताहरुको पुँजीमा वृद्धि भएको हो ।

गत पुसमा भने नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका हुन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको भाग ७१.९ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको भाग ६.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको भाग ४.७ प्रतिशत, होटेलको भाग ०.८ प्रतिशत, व्यापारिक संस्थाको भाग ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको भाग १५.७ प्रतिशत रहेको छ ।

- ४ फाल्गुन २०७७, मंगलवार १३:५९ मा प्रकाशित