मन्त्री आर्यालले मल खरिद ठेक्काबारे कृषि सामग्री कम्पनीसँग स्पष्टीकरण

मन्त्री आर्यालले मल खरिद ठेक्काबारे कृषि सामग्री कम्पनीसँग स्पष्टीकरण

६ फागुन, चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले राज्यकोषलाई थप भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले स्वीकृत गरेको ठेक्काका बारेमा स्पष्टीकरण माग गरिएको बताएकी हुन् । बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले आफू आउनुभन्दा अगाडि नै गरिएको ठेक्का र त्यसमा भएको सम्झौताका बारेमा कृषि सामग्री कम्पनीसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको बताएकी हुन् ।

राज्य कोषलाई २९ करोड रुपैयाँ भन्दाबढी आर्थिक भार पर्ने गरी सम्झौता गरिएको हो भन्ने प्रश्नमा मन्त्री अर्यालले आफूहरुको यसमा संलग्नता नभएको बताइन् । मन्त्री अर्यालले मल ल्याउन सक्ने वा नसक्ने कुरा मन्त्रीको सफलता वा असफलतासँग जोड्ने गरिएको भन्दै यसपटक किसानले समयमा नै मल पाउने दाबी गरिन् । ‘अलिकति मल स्टक पनि छ । केही मल आउँदैछ, गत वर्षको जस्तो समस्या यसपटक हुँदैन,’ मन्त्री आर्यालले भनिन्, ‘बीउवीजनको पनि अभाव नहोस् भनेर हामी लागि रहेका छौं ।’

- ६ फाल्गुन २०७७, बिहीबार १३:०४ मा प्रकाशित