नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने : डा. महत

नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने : डा. महत

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने जनाएका हुन् । जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले जनतामा जाने कुरा नकार्न नसक्ने उनले बताए ।

न्यूज एजेन्सी नेपाल (एनएएन)सँग कुरा गर्दै डा. महतले भनेका छन्, ‘नेपाली कांग्रेस मुलभूत रुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास गर्छ । जनताबाटै अनुमोदिन भएर कुनै क्षणिक रुपमा कोहीसँग जोडिएर तत्कालिन पार्टीगत लाभ लिउँ वा व्यक्तिगत लाभ लिउँ भन्ने मानसिकतामा नेपाली कांग्रेसको नेतृत्व छैन ।’

पार्टी सभापति शेरबहादुर देउवा निकट डा। महतले भनेका छन्, ‘नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो । जनताबाट अनुमोदित नभइकन सत्तामा जाने कुरालाई कहिले पनि नेपाली कांग्रेसले स्वीकारेको छैन । त्यो हाम्रो सिद्धान्त, विचार हो ।’ जबरजस्ती सत्तामा जाने कुरा अरु पार्टीहरुको लागि स्वाभाविक हुनसके पनि कांग्रेसको लागि नहुने उनले भने ।

सर्वोच्च अदालतले संसद विघटनलाई सदर गरेर निर्वाचनमा जाऊ भन्यो भने नेपाली कांग्रेस तयार रहेको उनले जानकारी दिए । अदालतले जे फैसला गरे पनि कांग्रेसले स्वीकार गर्ने उनको भनाइ छ । ‘यस अर्थमा पनि पुनःस्थापना होस् त्यसलाई पनि सहज रुपमा हामी स्वीकार गर्छौं र निर्वाचनमा जाने स्थिति आयो भने अदालतले त्यो किसिमको बाटो तय गर्‍यो भने त्यो निर्णयलाई हामी अवज्ञा गर्न सक्दैनौं डा. महतले बताए ।

- ९ फाल्गुन २०७७, आईतवार १४:३३ मा प्रकाशित