जुम्लाको छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा

जुम्लाको छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा

१० फागुन, खलङ्गा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको छ । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ ।

मन्त्रालयले देशभरका २०० स्थानीय तहमा बढीमा तीन वर्षभित्र योजना पूरा हुने गरी २०० वटा गन्तव्य छानेर सूची तयार पारिएको हो । जुम्लाका एक नगरपालिकासहित सातवटा गाउँपालिकामध्ये पातारासी गाउँपालिका-३ को छुमचौर जिउलो पर्यटन गन्तव्यको सूचीमा परेको हो । पर्यटन गन्तव्य सूची छनोट गर्नुका साथै छुमचौर जिउलो र त्यहाँ उत्पादन हुने कालीमार्सी धानको संरक्षण तथा सम्वर्धन गर्ने लक्ष्य राखिएको पर्यटन मन्त्रालयले बताएको छ ।

पर्यटन गन्तव्यका रूपमा छनोट भएको योजना पूरा गर्न गाउँपालिकाले ६० लाख र मन्त्रालयले एक करोड ४० लाख लागत साझेदारी गर्नेछन् । दुई हजार ८५० मिटर अग्लो स्थानमा मार्सीधान फल्ने भनेर गिनिज बुकमा रेकर्ड भएको छुमचौर जिउलो पातारासी गाउँपालिकामा पर्दछ । सन् २०१९ मा जग्गा दर्ता गरी २०२१ देखि यो धान रोपाइँ सुरु गरिएको यहाँका स्थानीयवासी बताउँछन् । धान लगाउने समयमा किसान सबै यार्सा टिप्न पाटनमा जाने भएकाले धान लगाउन छाडिएको थियो । जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर आसपास रहेको सेरा जिउलोबाट धानको बेर्ना लिएर छुमचौरमा रोपाइँ गर्ने थालनी भएको इतिहास रहेको छ ।

धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ अभाव, धान रोपाइँ र पाटनमा यार्सा सङ्कलनको सिजन एउटै पर्ने भएकाले विस्तारै रोपाइँ गर्न छाडिएको स्थानीयवासी अमर बुढाले जनाए । पछिल्लो समयमा सो जिउलोमा मार्सी धान रोप्न थालिएको वडाध्यक्ष बिर्खराम बोहोराले जानकारी दिए । मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार योजना र ती योजना सञ्चालन हुने स्थानीय तह छनोट गरेको छ ।

पातारासी गाउँपालिकाले पनि पर्यटन गन्तव्यमा पर्न सक्ने भन्दै छुमचौर जिउला संरक्षण र प्रवर्दधनका लागि झण्डै आठ करोडको डीपीआर (विस्तृत आयोजना प्रतिवेदन) बनाएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । पर्यटन वर्ष २०२० का लागि जुम्लाको डुङ्डुल चैत्य र सिञ्जा उपत्यका केन्द्रीय पर्यटन गन्तव्य सूचीमा परेका थिए ।

- १० फाल्गुन २०७७, सोमबार १२:४२ मा प्रकाशित