कोरोना कहर घट्यो पर्यटकको चहलपहल बढ्यो (फोटो फिचर)

कोरोनाको जोखिम घटे संगै सुदूरपश्चिमप्रदेशको  प्रमुख पर्यटकीयस्थल खप्तडमा घुम्न आउने पर्यटकको चहलपहल बढ्दै गएको छ l

कोरोना कहर घट्यो पर्यटकको चहलपहल बढ्यो (फोटो फिचर)

१० फागुन, डोटी  l  कोरोनाको जोखिम घटे संगै सुदूरपश्चिमप्रदेशको  प्रमुख पर्यटकीयस्थल खप्तडमा घुम्न आउने पर्यटकको चहलपहल बढ्दै गएको छ ।

आन्तरिक तथा छिमेकी मुलुक भारतबाटसमेत पर्यटक आउन थालेपछि पछिल्लो समय खप्तडमा चहलपहल पनि बढ्दै गएको हो। सुन्दर खप्तड क्षेत्रको अवलोकन गर्न हिजोआज दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका खप्तड पर्यटन विकास समितिले जनाएको छ ।

समितिका अनुसार यो वर्षको अहिलेसम्म भारतीयसहित ३९ जना मात्र विदेशी पर्यटकले खप्तड राष्ट्रिय निकुञ्ज अवलोकन गरेको तर तीन हजारभन्दा बढी स्वदेशी पर्यटक यहाँ पुगेका छन् ।

खप्तडमा पर्यटकहरु दिनहुँ आउन थालेपछि यहाँका होटेल व्यवसायी तथा सवारी साधन आम्दानीमा पनि बृद्धि भएको शैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताएक छन् ।

पछिल्लो समय खप्तडमा पर्यटक आउन थालेका छन्, उनीहरुले गाडी रिजर्भ गर्ने भएका कारण पनि स्थानीय यातायात व्यवसायीको आम्दानी पनि बढ्न थालेको समेत बताएका छन्।

काठमाडौँबाट खप्तड पुग्न, घुम्न र फर्कन धेरै खर्च लाग्दैन । काठमाडौँबाट जहाजमा जाने हो भने रु चार हजारदेखि १२ हजारसम्मको टिकट लाग्छ धनगढी पुग्न । बसमा जाने हो भने रु एक हजार ५०० कैलालीको अत्तरिया बजारसम्म गाडी भाडा लाग्छ ।

बझाङ जिल्ला भएर जाने हो भने प्रतिव्यक्ति रु ८०० गाडी भाडा लाग्छ । यसो गर्दा मेल्तडीमा खाना खाएर हिँडेर नै जानुपर्छ, दिउँसो २÷३ बजे नै खप्तड पुगिन्छ ।

डोटीबाट जाँदा अत्तरियाबाट करिब सात घण्टामा डोटीको सदरमुकाम सिलगढी पुगिन्छ भने सिलगढीबाट करिब तीन घण्टामा झिग्राना बजार पुगिन्छ । झिग्रानाबाट करिब सात घण्टाको पैदल हिँडेर खप्तड पुग्न सकिन्छ ।

करिब एक हप्ता खप्तड घुम्ने गरी भ्रमणमा जाँदा काठमाडौँबाट गएर काठमाडौँ पुग्न (खान, बस्न, टिकट, अन्य खर्च) न्यूनतम रु १० हजारजति लाग्न सक्छ ।

खप्तडमा खाने र बस्ने राम्रो व्यवस्था छ । खप्तडमा पानी पर्यो भने सहनै नसक्ने जाडो हुन्छ । क्षण–क्षणमै मौसम परिवर्तन हुन्छ ।

पानी पर्दा फाँटहरू एकैछिनमा जलाशयमा परिणत हुन्छन् । आकाशको पानी बन्द हुनेबित्तिकै एकैछिनमा जम्मा भएको पानी सबै बगेर ओभानो हुने गर्दछ । यो पनि यसद पर्यटकीय क्षेत्रको अर्को मुख्य विशेषता रहेको छ।

- १० फाल्गुन २०७७, सोमबार १५:३६ मा प्रकाशित