नेपाल सुपर लिग वैशाख ११ गतेबाट सुरु

नेपाल सुपर लिग वैशाख ११ गतेबाट सुरु

काठमाडौं १० फागुन । नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग प्रतियोगिता बैशाख दोस्रो हप्ता देखि सुरु हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिग बैशाख ११ गतेबाट सुरु हुने कुरा सार्वजनिक गरेका छन् ।पुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुने जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न शहरबाट ७ टिमको सहभगिता रहने छ ।

टिम र टिम ब्यबस्थापक र प्रशिक्षकको नाम भने यसै महिनाभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ। राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुने छन् ।

प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले दुई वर्ष अघि नै लिग आयोजना गर्ने घोषणा गरेको थियो ।

तर, म्यानेजमेन्टका सीईओ सुदिप शर्माले रंगशालाको पुननिर्माण र कोरोना भाईरसको कारण लिग समयमा गर्न नसकेको कुरामा जोड दिएका छन् ।

‘रंगशाला तयार नहुँदा र कोभिड-१९ को कारण समयमा प्रतियोगिता सुरु गर्न सकेनौं । आन्तरिक तयारी र छलफलपछि लिगको घोषणा गरेका छौँ,’ शर्माले भने,’नेपाली फुटबल व्यवसायिक र निजी क्षेत्रलाई आकर्षित गर्न प्रतियोगिता गर्न लागेका हौँ ।’

कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग आयोजनाका लागि वार्षिक क्यालेन्डरमा २ महिनाको समय दिईएको बताए ।

‘लामो समयपछि मिति तय भएको छ । दुई हप्तामा टिम तय हुनेछ । हामीले वार्षिक कार्यक्रममा दुई महिनाको समय छुट्टाएको छौँ,’ उनले भने, ‘सहकार्य र व्यवस्थित बनाउन छलफल गरिरहेका छौँ ।’

यस्तै अध्यक्ष शेर्पाले यस प्रतियोगिता फ्रेन्चाईजको रुपमा रहने बताउदै सहिद स्मारक लिग र नेसनल लिगलाई एन्फाले अघि बढाउने बताए ।

- १० फाल्गुन २०७७, सोमबार १६:२० मा प्रकाशित