१ वर्षीया शिशुको हत्या गरेको आरोपमा ५ जना पक्राउ

Bichar Desk 4
समाचार
१ वर्षीया शिशुको हत्या गरेको आरोपमा ५ जना पक्राउ

११ फागुन,बुटवल । एक वर्षीया शिशुको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा शिशुका आमाबाबुसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

शिशुको शव खोलामा गाडेको खबर पाएपछि पुगेको प्रहरीले दानव खोला नजिकैबाट शव पनि निकालेको छ । शिशुको मृत्युपछि आत्महत्या गर्ने प्रयास गरेकी प्रेमालाई उनकी नन्दले डोरी काटेर बचाएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार बालिकाको घाँटीमा डोरीको दाग देखिएपछि शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको डीएसपी थापाले जानकारी दिए ।

- ११ फाल्गुन २०७७, मंगलवार १३:५० मा प्रकाशित