अम्बर गुरुङको ८३औँ जन्मजयन्ती मनाइयो

अम्बर गुरुङको ८३औँ जन्मजयन्ती मनाइयो

काठमाडौँ, १४ फागुन (रासस):

राष्ट्रगानका सङ्गीतकार एवम् सङ्गीतज्ञ स्व अम्बर गुरुङको ८३ औँ जन्मजयन्ती विशेष साङ्गीतिक प्रस्तुतिसहित मनाइएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति गुरुङको जन्मजयन्तिका अवसरमा प्रतिष्ठानले आज आफ्नै कार्यालय परिसर बालुवाटारमा आयोजना गरेको कार्यक्रममा कलाकार सञ्जय तुम्रुक, दुर्गा परियार, रुपक चौधरीले गुरुङको सङ्गीतमा रहेको रातो र चन्द्र सूर्य बोलको गीत प्रस्तुत गर्नुभयो । त्यसैगरी प्राज्ञ भरत नेपाली, धनबहादुर गुरुङ लोकराज राईको वाद्यवादनमा नौलखातारा आकाशमा, हे कान्छा, लगायतका गुरुङद्वारा सिर्जित धून प्रस्तुत भएको थियो ।

प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’को सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले गुरुङलाई आफ्नो जीवन नै सङ्गीतका माध्यमबाट राष्ट्रका लागि समर्पित गर्ने एक विशिष्ट व्यक्तित्वका रुपमा चित्रित गर्नुभयो । उहाँले सङ्गीतवद्ध गरेका मायाप्रेमका गीतदेखि राष्ट्रिय भावले ओतप्रोतका सबै गीतमा एक किसिमको दार्शनिकताको आभास रहेको उल्लेख गर्नुभयो ।

वरिष्ठ गीतकार तथा पत्रकार रमण घिमिरेले गुरुङलाई सङ्गीत क्षेत्रमा आत्म केन्द्रित व्यक्तित्वको रुपमा चित्रित गर्दै दार्जिलिङमा रहँदा उहाँको जीवन सङ्घर्षका बारेमा जानकारी गराउनुभयो । नौलाखातारा उदायोबाट चर्चा कमाउन सफल भएपनि सङ्गीत क्षेत्रबाट जीविकोपार्जन हुने नदेखिएपछि सङ्गीतकर्म छोडेर कृषिकर्मतर्फ लाग्ने सोच बनाइरहँदा शङ्कर लामिछानेको संगतपछि फेरि सङ्गीत कर्मलाई निरन्तरता दिएको कुरा पनि सो अवसरमा घिमिरेले सुनाउनुभयो ।

त्यस्तै प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले गुरुङले सङ्गीत सिर्जन गर्नुभएका निकै लोकप्रिय हे कान्छा, म अम्बर तिमी धर्ती, सम्हालेर राख सङ्गालेर राख, होसियार, समयको भीडमा आफूलाई चिन, मेरो आँखालाई राख्ने फुलबारी छैनजस्ता गीतभित्रका दार्शनिक पाटोलाई उजागर गर्नुहँदै शब्द, सङ्गीत र स्वरको त्रिवेणीका रुपमा गुरुङलाई चित्रण गर्नुभयो ।

- १४ फाल्गुन २०७७, शुक्रबार २०:१० मा प्रकाशित