दुई अतिवाद को विसर्जन

दुई अतिवाद को विसर्जन

फागुन २१, काठमाडौँ ।  २०७२ सालमा नयाँ संविधान जारी भएपछि मूलधारका राजनीतिक शक्तिहरू त्यही संविधानको वरिपरि गोलबद्ध भए । उनीहरू संविधानको स्वामित्व लिँदै संसदीय राजनीतिको बाटोमा हिँड्न थाले । तर यही समयमा संविधानलाई नै चुनौती दिँदै दुइटा राजनीतिक प्रवृत्ति झांगिए– एउटा उग्रवामपन्थी र अर्को विखण्डनवादी ।

संविधानले पक्रेको संसदीय राजनीतिको बाटो नै बदल्नुपर्ने भन्दै त्यसका लागि हिंसात्मक विद्रोहसम्म गर्ने योजनासहित ‘उग्रवामपन्थी’ प्रवृत्तिको नेतृत्व नेत्रविक्रम चन्दले गरेका थिए । उता मधेसलाई छुट्टै देश बनाउने योजनासहित ‘विखण्डनवादी’ प्रवृत्तिको नेतृत्व सीके राउतले गरेका थिए । दुवैले संविधानलाई चुनौती दिँदै गतिविधि अघि बढाउन थालेपछि राज्य पक्ष र मूलधारका राजनीतिक शक्तिहरूलाई टाउको दुखाइ भएको थियो । संविधान निर्माणको साढे ५ वर्षभित्रै यी दुवै ‘अतिवादी प्रवृत्ति’ ले तत्कालका लागि सुरक्षित अवतरण गरेका छन् ।

राउत २०७५ फागुन २४ मै मधेसलाई छुट्टै देश बनाउने योजना त्यागेर मूलधारमा आइसकेका थिए । शुक्रबारबाट नेत्रविक्रम चन्दको समूह पनि ‘शान्तिपूर्ण’ राजनीतिको बाटोमा आउँदै छ । तीन चरणमा भएको वार्ता बिहीबार सफल भएपछि चन्द समूहले हिंसात्मक गतिविधि त्याग्ने प्रतिबद्धता जनाएको छ र सरकारले यो समूहमाथि दुई वर्षदेखि लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा शुक्रबार हुने औपचारिक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले संयुक्त सम्बोधन गर्दै छन् । त्यहाँ उनीहरूले राजनीतिक सहमतिका थप विषय स्पष्ट पार्नेछन् । ठीक दुई वर्षअघि राउतलाई पनि प्रधानमन्त्री ओलीले यसैगरी राष्ट्रिय सभागृहको मञ्च सेयर गर्दै मूलधारको राजनीतिमा आएकामा स्वागत गरेका थिए ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

- २१ फाल्गुन २०७७, शुक्रबार १०:३२ मा प्रकाशित