एएफसी कप २०२१ मा नेपाल आर्मीले श्रीलंका पुलिससँग खेल्न तयारी

एएफसी कप २०२१ मा नेपाल आर्मीले श्रीलंका पुलिससँग खेल्न तयारी

२४ चैत, काठमाडौं । एएफसी कप २०२१ प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी क्लबले भोलि बुधबार श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ । दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने खेलका लागि तयारी राम्रो रहेको आर्मीका कप्तान भरत खवासले बताए । हालै काठमाडौंमा भएको थ्री नेसन्स लिगमा बेन्चमा बसेका उनले यो खेल आफ्ना लागि पुरानै लयमा छु भन्ने देखाउने अवसर समते भएको खवासले बताए ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि नतिजा आफूहरुको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् । ‘हामी जितका लागि खेल्छौं’ उनले भने, ‘हामी पहिला पहिलो चरणलाई पार गर्न चाहन्छौं ।’ उनका अनुसार सुमन अर्याल र टेक बहादुर बस्नेत घाइते भएका छन् । यद्यपि, सुमनले खेल्ने सम्भावना रहेको प्रशिक्षक अर्यालले बताए । मंगलबार आयोजित प्रि म्याच कन्फ्रेन्समा श्रीलंका पुलिसका प्रशिक्षकले पनि टोलीमा तीनजना विदेशी खेलाडी रहेकाले नजिता राम्रो आउने आशा व्यक्त गरेका हुन् ।

- २४ चैत्र २०७७, मंगलवार १२:३७ मा प्रकाशित