ओलीबिनाको एमाले बनाउने छलफलमा जुट्यो नेपाल-खनाल समूह

ओलीबिनाको एमाले बनाउने छलफलमा जुट्यो नेपाल-खनाल समूह

साउन ०६, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहमा साविकको पार्टीभित्रै आफूहरुको बहुमत पुग्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीबिनाको पार्टी बनाउन सकिने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले गरेको छलफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।

केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने र साविकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको हो ।

१५ दिनभित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओलीबाहेकको पार्टी गठन गर्ने भन्ने सुझाव आएको केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले बताए ।

सांसद विरोध खतिवडाले आफूहरुसँग ओलीपक्षबाट ८ जना सांसद थपिएको र अरु पनि सम्पर्कमा रहेको बताउनुभयो । चौधरीले नयाँ पार्टी गठन गर्नेबारे पनि कानून व्यवसायीसँग छलफल गरेर निर्णय लिने बताए।

सकभर एमाले एकता कायम राख्न अन्तिमसम्म प्रयास गर्ने र नभए कानूनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव पनि आएको उहाँको भनाइ छ ।

- ६ श्रावण २०७८, बुधबार १२:२२ मा प्रकाशित