
१४ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनबीच मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएको छ । तर, दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय नपारी मन्त्रिपरिषद् विस्तार भए मन्त्री हुन नपाएकाहरुले पार्टी फुटाउन सक्ने जोखिम रहेको भन्दै त्यसलाई निष्क्रिय पारेर अघि बढ्ने विषय पनि छलफलमा आएको स्रोतले जनाएको छ ।
आजको बैठकमार्फत मन्त्रालयको भागबन्डा मिलाउने र सकेसम्म आजै नभए केही दिनभित्रै मन्त्रिपरिषद् विस्तारको तयारी भएको नेताहरुले जनाएका छन् । बैठकमा जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेता बेदुराम भुसाललगायत सहभागी छन्।
- १४ भाद्र २०७८, सोमबार ११:३१ मा प्रकाशित