रोहितले अमेरिकाविरूद्ध अर्धशतक बनाउने कीर्तिमान बनाए

रोहितले अमेरिकाविरूद्ध अर्धशतक बनाउने कीर्तिमान बनाए

२९ भदौ, काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्ध अर्धशतक प्रहार गरेका मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले एकदिवसीय खेलमा नेपालका लागि बढी अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । सोमबार राति अमेरिकाविरूद्ध रोहितले नटआउट ६२ रन जोडेका थिए । उनले ८७ बलमा २ चौका र ३ छक्का हिर्काएका थिए । खेलमा नेपालले ५ विकेटको जित हात पारेको थियो ।

अमेरिकाविरुद्ध रोहितले करिअरको तेस्रो अर्धशतक प्रहार गरेका छन् । नेपालका लागि एकदिवसीय खेलमा बढी अर्धशतक प्रहार गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा कप्तान ज्ञानेन्द्र मल्ल छन् । नेपालले एकदिवसीय खेलमा अहिलेसम्म १२ अर्धशतक र एक शतक प्रहार गरेको छ । रोहितले नेपालका लागि एकदिवसीय खेलमा लगातार दुई अर्धशतक बनाउने कीर्तिमान पनि बनाए ।

अमेरिकाविरुद्धको खेलमा रोहितले आफ्नो नाममा थप एक कीर्तिमान लेखाउन सफल भए । उनले नेपालका लागि पाँचौ विकेटको सर्वाधिक ठूलो साझेदारी गर्ने क्रममा विनोद भण्डारीसँग मिलेर ८३ रन जोडे । रोहित र ज्ञानेन्द्रको नाममा एकदिवसीय खेलमा नेपालका लागि सर्वाधिक रनको साझेदारी गर्ने कीर्तिमान पनि छ ।

- २९ भाद्र २०७८, मंगलवार ११:४८ मा प्रकाशित