उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हमालले राजीनामा बुझाए

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हमालले राजीनामा बुझाए

२४ असोज, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका छन् । हमालले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

उनी शुक्रबार मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् । मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालले बताएका छन् ।

सर्वोच्च अदालतको २८ असारको आदेशअनुसार २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री मागेका थिए । सत्तारुढ दलका नेताहरुका अनुसार उनले वन तथा वातावरण र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मागेका थिए । अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हमाल बनेका छन् । यसले पनि उनी जबराकै कोटामा मन्त्री बनेको प्रष्ट हुने स्वयं सत्तारुढ दलका नेताहरु बताउँछन् ।

- २४ आश्विन २०७८, आईतवार ११:११ मा प्रकाशित