वीर अस्पतालको प्रमुखमा डा. गुणराज लोहनीलाई जिम्मेवारी दिएपछि कर्मचारीहरू विरोधमा उत्रिए

वीर अस्पतालको प्रमुखमा डा. गुणराज लोहनीलाई जिम्मेवारी दिएपछि कर्मचारीहरू विरोधमा उत्रिए

२८ पुस, काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा. गुणराज लोहनीलाई जिम्मेवारी दिएपछि कर्मचारीहरू विरोधमा उत्रिएका हुन् ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले डा। लोहनीलाई अस्पताल छिर्न नदिने भन्दै धर्ना दिएका छन् । ‘पटकपटक पदाधिकारी परिवर्तन मात्र समस्याको समाधान होइन, वीर अस्पतालको विकास देख्न नचाहनेहरुलाई नै प्रमुख पदको मोह किन ?, अस्पतालका पदाधिकारीले बुझ्न नसकेको समस्या बाहिरबाट आउनेले कति बुझ्लान ?, कर्मचारीको समस्या जस्ताको त्यस्तै पदाधिकारी परिवर्तन किन यति सस्तो ?, लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

कर्मचारीले वीर अस्पताल बाहिरबाट आउने प्रमुखलाई नमान्ने बताउँदै आएका छन् । अस्पतालको विकास देख्न नचाहने व्यक्तिलाई नै सरकारले प्रमुख बनाएको कर्मचारीहरुको भनाइ छ । ‘विगतमा १२औं तहमा डा. लोहनी बढुवा हुँदा मन्त्रालयले सरुवा गर्न खोज्दा आर्थिक तथा प्रशासनिक रुपले कमजोर भएको वीर अस्पताल आउन चाहनु भएको थिएन । तर, भुपेन्द्र बस्नेतले नेतृत्व सुधार गरेपछि डा. लोहनीको पाँच महिना सेवा अवधि हुँदा वीर अस्पताल आउनुको कारण के हो ?,’ वीर अस्पताल युनियनका कर्मचारीका सचिव दीपक मुडभरीले भने, ‘स्वास्थ्य मन्त्रालयमा रहँदा नै वीर अस्पतालको विरोध गर्नु हुन्थ्यो । त्यस्तो व्यक्तिलाई नियुक्त गरेर ल्याउने प्रयास भएको छ । त्यसको विरोधमा नै हामी धर्नामा बसेका हौँ ।’

 

- २८ पुष २०७८, बुधबार १६:३२ मा प्रकाशित